बागलुङमा स्कुल भ्यान दुर्घटना, २३ विद्यार्थी अस्पतालमा भर्ना, ३ जनाको अवस्था गम्भीर

-


     हिडन खबर    
     माघ ३० गते २०८२ मा प्रकाशित


बागलुङ, माघ २९ — बागलुङ नगरपालिका–३ शिवधारा चोकस्थित भित्री सडक खण्डमा आज अपराह्न स्कुल भ्यान दुर्घटना हुँदा २३ जना विद्यार्थी घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार अपराह्न करिब ४:३० बजे बागलुङ नगरपालिका–१ रामरेखास्थित न्यू एभरेष्ट बोर्डिङ स्कुलको ग३च ८६२१ नम्बरको स्कुल भ्यान विद्यार्थीहरूलाई रातामाटा तर्फ घर छाड्न जाँदै गर्दा सडकबाट करिब ५०/६० मिटर तल खसेको हो।

दुर्घटनामा भ्यानमा सवार कति विद्यार्थी थिए भन्ने यकिन विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। हालसम्म २३ जना घाइते विद्यार्थीलाई धौलागिरी प्रादेशिक अस्पताल, बागलुङ पठाइएको छ। तीमध्ये ३ जनाको अवस्था गम्भीर रहेको र अन्यको अवस्था मध्यम तथा सामान्य रहेको बताइएको छ। चालक पनि घाइते भई सोही अस्पतालमा उपचाररत छन्।

अन्य घाइतेहरूको उद्धार तथा उपचारका लागि अस्पताल पठाउने कार्य जारी रहेको छ। दुर्घटनाग्रस्त सवारीसाधन घटनास्थलमै रहेको छ।

घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालय बागलुङबाट प्रहरी उपरीक्षक तिलक भारतीको कमाण्डमा ३० जनाको प्रहरी टोली खटिएको थियो। दुर्घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट करिब २ किलोमिटर उत्तरतर्फ पर्छ। दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।