साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् : प्रचण्ड

-


     हिडन खबर    
     माघ ३० गते २०८२ मा प्रकाशित


बागलुङ, बुर्तिबाङ । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्र रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताउनुभएको छ।

बुर्तिबाङमा आयोजित कार्यक्रममा स्थानीय जनता, मतदाता तथा नेताकार्यकर्तासँग संवाद गर्दै उहाँले २०८४ सालमै निर्वाचन होस् भन्ने राजनीतिक दल र जनताको चाहना भए पनि बाध्यात्मक परिस्थिति सिर्जना भएपछि अहिले निर्वाचन हुन गएको बताउनुभयो।

उहाँले भदौ २३ र २४ गते भएका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विवेकपूर्ण भूमिका निर्वाह नगरेको भए स्थिति अझ जटिल बन्न सक्ने बताउनुभयो। विशेषगरी आफू र सहसंयोजक माधव नेपालले विशेष पहल गरेर देशलाई संकटबाट जोगाउने प्रयास गरेको उहाँको दाबी थियो।
“२४ गतेको घटनाको उद्देश्य केवल आगजनी र लुटपाट मात्रै थिएन, राष्ट्रपति हटाएर कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने जानकारी हामीले पायौं,” उहाँले भन्नुभयो।

उहाँले उक्त घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिहरूको काँधमा आएको धारणा राख्नुभयो।

संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने समूह र राष्ट्रवादी शक्तिबीचको लडाइँ भएको दाबी गर्नुभयो। “२४ गतेदेखि २६ गतेसम्म राज्य सञ्चालन कसले गरिरहेको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने अवसर हो,” उहाँले भन्नुभयो।

विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै उहाँले नेपालजस्तो सानो देश पनि ठूला शक्तिको प्रतिस्पर्धाको अखडा बन्न नहुने बताउनुभयो। “नेपालका खनिज वा स्रोतसाधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्वका लागि प्रयोग हुन सक्ने खतरा देखिएको छ,” उहाँले चेतावनी दिनुभयो।

युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उहाँले विदेशी हस्तक्षेपप्रति सजग रहन आग्रह गर्नुभयो। “साँढेको जुधाइँ, बाच्छाको मिचाइँ नहोस् भन्ने हाम्रो चिन्ता हो,” उहाँले भन्नुभयो।

निर्वाचनलाई राष्ट्र र स्वाधीनताको रक्षा गर्ने अवसरका रूपमा लिन आह्वान गर्दै उहाँले जनतालाई देशविरुद्धका जालझेल र षड्यन्त्र रोक्न एकजुट हुन आग्रह गर्नुभयो।

सो अवसरमा उहाँले बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासलाई आपसमा जोड्ने विभिन्न योजना अघि सारिएको उल्लेख गर्नुभयो। बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेजस्ता युवा नेतालाई उम्मेदवारी दिँदा आफूलाई गर्व लागेको बताउँदै उहाँले निर्वाचनमा विजयी गराए पार्टीले उहाँलाई जनताको हितमा उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिष्ट पार्टीकी नेतृ पम्फा भुसाल तथा बागलुङ–२ का उम्मेदवार ज्ञामलाल गैरेलगायत नेताहरूले पनि सम्बोधन गर्नुभएको थियो। वक्ताहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट भई स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिएका थिए।