त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपास प्रदर्शन तथा जुलुस नगर्न प्रशासनको निर्देशन

-


     हिड्न खबरदाता     
     माघ ३० गते २०८२ मा प्रकाशित


काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र आसपासका क्षेत्रमा कुनै पनि प्रकारका प्रदर्शन, जुलुस, धर्ना, घेराउ तथा भीडभाडजन्य गतिविधि नगर्न आग्रह गरेको छ।

प्रमुख जिल्ला अधिकारीद्वारा जारी अत्यन्त जरुरी सूचनामा हाल देशमा प्रतिनिधि सभा सदस्य निर्वाचनको वातावरण निर्माण भइरहेको उल्लेख गर्दै शान्ति–सुरक्षाको अवस्था थप सुदृढ बनाउने उद्देश्यले यस्तो निर्देशन जारी गरिएको जनाइएको छ।

सूचनामा केही समूह तथा राजनीतिक दलबाट विमानस्थल क्षेत्र र आसपास प्रदर्शन, भेला तथा जुलुस गर्ने भनी सार्वजनिक रूपमा अभिव्यक्त विचारप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ।

स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम यस्ता गतिविधि सञ्चालन गर्न पूर्व स्वीकृति लिनुपर्ने प्रावधान रहेको भन्दै हाल निर्वाचन आचारसंहिता लागू रहेको अवस्थामा

स्वीकृतिबिना कुनै कार्यक्रम गर्न नपाइने स्पष्ट पारिएको छ।
प्रशासनले विमानस्थल जस्तो अत्यन्त संवेदनशील क्षेत्रको सुरक्षा, यात्रुहरूको सहज आवतजावत, सार्वजनिक सडक मार्गको नियमित सञ्चालन तथा सर्वसाधारणको निर्वाध आवागमन सुनिश्चित गर्न यस्तो निर्णय गरिएको जनाएको छ।

सूचनामा विमानस्थल आसपास तथा सार्वजनिक सडकमा जुलुस, प्रदर्शन, हुलहुज्जत, चर्का नारा–जुलुस जस्ता गतिविधि नगर्न/नगराउन तथा सामाजिक सञ्जालमार्फत उक्साउने कार्यसमेत नगर्न चेतावनी दिइएको छ।

निर्देशन उल्लंघन गरी कानुन विपरीत गतिविधिमा संलग्न हुने जो–कोहीलाई प्रचलित कानुनबमोजिम कारबाही गरिने समेत प्रशासनले स्पष्ट पारेको छ।