
काठमाडौं माघ २८
महिलाहरूलाई एकताबद्ध गर्दै मैत्री, सेवा र अन्तर्राष्ट्रिय समझदारी प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको विश्वकै ठूलो अन्तर्राष्ट्रिय महिला सामाजिक संस्था इनर ह्वील (Inner Wheel) को सक्रियता नेपालमा पनि बढ्दो क्रममा रहेको छ। यससँगै सामाजिक तथा विकासमुखी गतिविधिहरू समेत विस्तार हुँदै गएका छन्।
काठमाडौंको तारकेश्वर नगरपालिका–४, बालाजुमा सर्वसाधारण यात्रुको सुविधाका लागि समाजसेवी मन्दिरा श्रेष्ठले आफ्नै निजी लगानीमा यात्रु प्रतीक्षालय निर्माण गर्नुभएको छ।
इनर ह्वील क्लब अफ बालाजुकी अध्यक्षसमेत रहनुभएकी श्रेष्ठद्वारा निर्माण गरिएको उक्त प्रतीक्षालयको एक कार्यक्रमबीच उद्घाटन गरिएको हो।
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिका–४ का वडा अध्यक्ष नरेन्द्र दास श्रेष्ठले स्थानीय तहले गर्नुपर्ने काम इनर ह्वील क्लबले गरेर प्रशंसनीय कार्य गरेको बताउनुभयो। उहाँले नगरपालिकाको केन्द्र भागमा रहेको उक्त प्रतीक्षालय यात्रुका लागि लाभदायक हुने उल्लेख गर्दै आगामी दिनमा समेत सहकार्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो।
त्यसैगरी, इनर ह्वील क्लब अफ बालाजुकी अध्यक्ष मन्दिरा श्रेष्ठले यस क्षेत्रमा बढ्दो यातायात चापका कारण यात्रुहरूलाई सवारीसाधन पर्खन उपयुक्त स्थानको अभाव देखिएको बताउनुभयो। स्थानीय जनप्रतिनिधिको सहयोगमा व्यक्तिगत रूपमा प्रतीक्षालय निर्माण गरिदिएको उनको भनाइ छ।
स्थानीय समाजसेवी जयन्द्र वीर सिंह बस्नेतले स्थानीय तहका जनप्रतिनिधि सहयोगी रहेको अन्य स्थानमा समेत यस्ता यात्रु प्रतीक्षालय निर्माण गर्न क्लबलाई आग्रह गरे ।
सवारीसाधनको प्रतीक्षा गर्नुपर्दा यात्रुहरू सडकमै उभिनुपर्ने अवस्था रहेकाले दुर्घटनाको जोखिम बढिरहेको थियो। वडा कार्यालय नजिकै प्रतीक्षालय निर्माण भएपछि यस क्षेत्रबाट यात्रा गर्ने यात्रुहरूले राहत महसुस गरेका छन्।
इनर ह्वील क्लब डिस्टिक ३५०का चेयरमेन कमला श्रेष्ठ ,क्लबका एनआर शर्सिस पालिखे इनर ह्वील क्लब बालाजुका ,उपाध्यक्ष स्वेक्षा श्रेष्ठले क्लबले सामाजिक तथा मानवीय क्षेत्रमा गरेको राम्रो कामको कारण क्लब समेत स्थापित हुदै गइरहेको हुदा आगामा दिनहहरूमा समेत सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका थिए ।
इनर ह्वील क्लबले महिला बीच मैत्री र सहकार्य अभिवृद्धि गर्दै सामाजिक सेवा, शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बालबालिकाको हित तथा विपद् राहतलगायत क्षेत्रमा योगदान दिँदै आएको छ।
बागलुङ समाज कल्याण केन्द्र महिला समूह काठमाडौंका उपाध्यक्ष समेत रहेका श्रेष्ठले क्लब मार्फत यसअघि पनि विभिन्न प्राकृतिक तथा दैवी प्रकोपका समयमा पीडितहरूलाई राहत सामग्री तथा आर्थिक सहयोग प्रदान गर्दै आएको जनाएको छ।



















