राजनीतिक दलका घोषणापत्रमा खानेपानी र सरसफाइलाई प्राथमिकतामा राख्न FEDWASUN को आग्रह

-


     राजेशचन्द्र राजभण्डारी     
     माघ २८ गते २०८२ मा प्रकाशित


काठमाडौँ ।माघ२७

खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (FEDWASUN) ले आगामी २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै राजनीतिक दलहरूलाई आफ्ना घोषणापत्रमा खानेपानी, सरसफाइ तथा स्वच्छता (WASH) क्षेत्रलाई प्राथमिकताका साथ समावेश गर्न आग्रह गरेको छ।

महासंघले काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी सुरक्षित, समावेशी र दिगो खानेपानी तथा सरसफाइ सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न सरकार तथा राजनीतिक दलहरूको स्पष्ट प्रतिबद्धता आवश्यक रहेको जनाएको हो।

राजनीतिक दलहरू चुनावी घाेषणापत्र जारी गर्ने अवस्थामा रहेको छ खानेपानी र सरसफाइ लाई संयुक्त राष्टसंघले समेत जनताको माैलिक हकमा राखिसकेकाे अवस्था नेपालकाे संविधान धारा ३५ काे उपधारा ४ मा पनि नेपाली नागरिक लाई खानेपानी र सरसफाइमा पहुँचमा हुने ब्याख्या भएको नेपाल खानेपानी उपभोक्ता तथा सरसफाइ महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए  ।

FEDWASUN का अनुसार पछिल्ला वर्षहरूमा खानेपानी तथा सरसफाइको पहुँच बढे पनि सेवा गुणस्तर, सुरक्षित व्यवस्थापन, दीगो सञ्चालन तथा समान पहुँचका विषयमा अझै चुनौती कायम छन्। त्यसैले आगामी सरकारको नीति तथा कार्यक्रममा यस क्षेत्रलाई स्पष्ट प्राथमिकता दिनुपर्ने महासंघको भनाइ छ।

महासंघले राजनीतिक दलहरूलाई घोषणापत्रमा समावेश गर्नुपर्ने प्रमुख विषयहरूमा खानेपानी तथा सरसफाइ क्षेत्रलाई करमुक्त क्षेत्र घोषणा गर्ने, विद्युत् महसुलमा छुट दिने, सेवा गुणस्तर र शुल्क संरचना नियमन गर्न स्वतन्त्र नियामक निकाय स्थापना गर्ने तथा प्रत्येक दुई वर्षमा संयुक्त
क्षेत्र समीक्षा (JSR) गर्ने विषय उल्लेख गरेको छ।

त्यसैगरी, स्थानीय तहमा WASH योजना अनिवार्य गर्दै बजेट विनियोजन डेटा–आधारित बनाउनुपर्ने, संघ, प्रदेश र स्थानीय तहमा खानेपानी तथा सरसफाइ ऐन तथा नियमावली निर्माण र कार्यान्वयन गर्नुपर्ने माग महासंघले अघि सारेको छ।

महासंघले SDG 2030 अनुरूप सर्वसुलभ तथा सुरक्षित खानेपानी सेवाको पहुँच सुनिश्चित गर्ने दीर्घकालीन रणनीति आवश्यक रहेको उल्लेख गर्दै आगामी पाँच वर्षभित्र आधारभूत सेवाबाट सुरक्षित व्यवस्थापनयुक्त (Safely Managed) सेवामा रूपान्तरण गर्नुपर्ने जनाएको छ।

FEDWASUN का अनुसार खानेपानी तथा सरसफाइ सेवा घरधुरीमा मात्र सीमित नराखी विद्यालय, स्वास्थ्य संस्था तथा सार्वजनिक स्थानहरूमा समेत विस्तार गर्नुपर्ने आवश्यकता रहेको छ।

महासंघले नागरिकको स्वास्थ्य, मर्यादा र दिगो विकाससँग प्रत्यक्ष जोडिएको WASH क्षेत्रलाई राजनीतिक दलहरूले घोषणापत्रमा समेटी कार्यान्वयनयोग्य कार्यक्रम अघि बढाउने विश्वास व्यक्त गरेको छ।

महासंघले अब छिट्टै प्रमुख राजनीतिक दहका प्रतिनिधिहरू बिच खानेपानी तथा सरसफाइ सम्बन्धि बहस गराउने कार्यक्रम समेत तय गरेको छ ।