बागलुङमा संयुक्त नमुना मतदान केन्द्रको अभ्यास सम्पन्न

-


     हिड्न खबरदाता     
     माघ २७ गते २०८२ मा प्रकाशित


बागलुङ, माघ २६

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा बागलुङ जिल्लामा निर्वाचन लक्षित गतिविधिहरू तीव्र बन्दै गएका छन्।

प्रतिनिधि सभाका लागि दुईवटा निर्वाचन क्षेत्र रहेको बागलुङ जिल्लामा शान्तिपूर्ण, निष्पक्ष तथा धाँधलीरहित निर्वाचन सम्पन्न गर्ने उद्देश्यले संयुक्त नमुना मतदान केन्द्रको अभ्यास कार्यक्रम सञ्चालन गरिएको हो।

जिल्ला प्रहरी कार्यालय बागलुङको समन्वयमा गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म तथा जिल्लास्थित चारवटै सुरक्षा निकायको संयुक्त सहभागितामा बागलुङको खेल मैदानमा उक्त अभ्यास सम्पन्न गरिएको थियो। सो अभ्यास आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी आयोजना गरिएको हो।

अभ्यास कार्यक्रममा बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूको उपस्थिति रहेको थियो।

निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी जिल्ला समितिको आयोजनामा सम्पन्न अभ्यासमा मतदानस्थल निर्माण, नमुना मतदान प्रक्रिया, मतदान कार्यमा अवरोध सिर्जना भएमा अपनाइने सुरक्षा उपाय, अवरोध हटाई मतदान सुचारु गर्ने प्रक्रिया, कानुन बमोजिम सिलसिलेवार बल प्रयोगको अभ्यास, शंकास्पद वस्तु फेला परेमा त्यसको डिस्पोजल तथा मतपेटिका सुरक्षित रूपमा मतगणना केन्द्रसम्म ढुवानी गर्ने अभ्याससमेत गरिएको थियो।

अभ्यासको क्रममा निर्वाचन प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी जिल्ला समितिका प्रमुख एवं प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले कानुनको पूर्ण पालना गर्दै निष्पक्ष र सुरक्षित निर्वाचन सम्पन्न गर्न निर्वाचन सुरक्षामा खटिने प्रहरीहरूलाई आत्मविश्वासका साथ जिम्मेवारी निर्वाह गर्न आवश्यक निर्देशन दिनुभएको थियो।