
बागलुङ । बागलुङमा निर्वाचन लक्षित सुरक्षा योजनाअन्तर्गत ११५ थान अवैध भरुवा बन्दुक बरामद गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बागलुङले पछिल्लो ४५ दिनमा सञ्चालन गरिएको विशेष अभियानमार्फत उक्त संख्यामा भरुवा बन्दुक बरामद गरेको हो।
वनजंगलमा हुने चोरी–सिकारीलाई नियन्त्रण गर्ने उद्देश्यले सञ्चालन गरिएको अवैध हातहतियार खोजी अभियानबाट अहिलेसम्मकै धेरै भरुवा बन्दुक बरामद भएको प्रहरी उपरीक्षक तिलक भारतीले जानकारी दिनुभयो।
इजाजतपत्र बिना लुकाइ–छिपाइ राखिएका भरुवा बन्दुक संकलन गरी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
बरामद भएका अधिकांश बन्दुक स्थानीय स्तरमै बनाइएका र प्रयोगयोग्य अवस्थामा रहेको पाइएको छ। यी बन्दुकहरू जंगल तथा गोठमा लुकाइ राखी प्रयोग गरिएको प्रहरीको भनाइ छ।















