
धनुषा माघ २०
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा धनुषा निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार राम पल्टन शाहको उम्मेदवारीलाई पार्टीभित्र मात्र होइन, बाहिर पनि व्यापक सकारात्मक रूपमा हेरिएको छ। करिब चार दशकसम्म राजनीति र सामाजिक सेवामा निरन्तर समर्पित रहनु भएका शाह पहिलो पटक प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्नु भएको हो, जुन उहाँको दीर्घ सार्वजनिक यात्राको महत्वपूर्ण उपलब्धि मानिन्छ।
विद्यार्थी राजनीतिबाट सुरु भएको उहाँको राजनीतिक यात्रा संगठन निर्माण, लोकतन्त्रको संरक्षण तथा जनअधिकारको पक्षमा निरन्तर आवाज उठाउँदै अघि बढेको देखिन्छ। कठिन समय, संघर्ष र बलिदानका दिनहरू पार गर्दै आज उहाँ उम्मेदवारका रूपमा अगाडि आउनु संघर्षशील कार्यकर्ताहरू तथा युवा पुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ।
राम पल्टन शाहले स्वर्गीय नेता प्रदीप गिरिलाई आफ्नो राजनीतिक गुरुका रूपमा आदरपूर्वक स्मरण गर्नु हुन्छ। गिरिको विचार, निष्ठा, सादगी र सिद्धान्तप्रतिको अडानले शाहको राजनीतिक जीवनलाई गहिरो रूपमा प्रभावित गरेको छ। आज उहाँको उम्मेदवारीलाई धेरैले प्रदीप गिरिको विचारधाराको निरन्तरताका रूपमा पनि व्याख्या गरेका छन्।
स्थानीय तहदेखि केन्द्रसम्म पार्टी संगठनलाई सुदृढ बनाउन सक्रिय रहँदै आउनु भएका शाह जनताको पीडा र आवाज बुझ्ने, सरल, विनम्र र सहज पहुँचयोग्य नेताका रूपमा परिचित हुनुहुन्छ। धनुषा–१ का मतदाताहरू उहाँलाई अनुभवी, इमानदार र सिद्धान्तनिष्ठ प्रतिनिधिका रूपमा विश्वास गर्न थालेका छन्।
४० वर्षको संघर्ष, विचारको स्पष्टता र सेवाभावका आधारमा अघि बढेको यो उम्मेदवारी नेपाली कांग्रेसका लागि मात्र होइन, लोकतान्त्रिक मूल्य, नैतिक नेतृत्व र जनमुखी राजनीतिका लागि पनि सुखद पक्ष बनेको छ।














