
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको निर्वाचन परिचालन समितिको सचिवालयको दोस्रो बैठक आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा संयोजक प्रचण्डको अध्यक्षतामा सम्पन्न भयो।
बैठकमा सचिवालय सदस्यहरूले निर्वाचन तयारी, समसामयिक राजनीतिक अवस्था तथा क्षेत्रगत परिस्थितिबारे प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदन सुनेपछि संयोजक प्रचण्डले समग्र राजनीतिक अवस्था र निर्वाचनसम्बन्धी विषयमा धारणा व्यक्त गरे।
बैठकले केन्द्रीय निर्वाचन परिचालन कमिटीको बैठक आगामी माघ २२ गते बोलाउने निर्णय गर्यो। साथै, नेता तथा कार्यकर्ताको परिचालन, निर्वाचन अपिल प्रकाशन, घोषणापत्र सम्पादन तथा प्रकाशन, सुरक्षा व्यवस्था, आर्थिक तथा मिडिया परिचालन, आचारसंहिता र निर्वाचन आयोगसँग सम्बन्धित विभिन्न महत्वपूर्ण निर्णयहरू पनि गरियो।
निर्वाचन परिचालनको प्रभावकारी अनुगमनका लागि प्रदेशगत जिम्मेवारी तोकिएको छ। जसअनुसार—
- कोशी प्रदेशमा बेदुराम भुसाल
- मधेस प्रदेशमा अग्नि सापकोटा
- बागमती प्रदेशमा राजेन्द्र श्रेष्ठ
- गण्डकी प्रदेशमा देव गुरुङ
- लुम्बिनी प्रदेशमा पम्फा भुसाल
- कर्णाली प्रदेशमा प्रमेश हमाल
- सुदूरपश्चिम प्रदेशमा रञ्जिता श्रेष्ठलाई जिम्मेवारी प्रदान गरिएको छ।
त्यसैगरी, बैठकले नेता तथा कार्यकर्ताको परिचालन सम्बन्धमा ठोस निर्णय गर्दै निर्वाचनका लागि अपिल छिट्टै प्रकाशित गर्ने र घोषणापत्रलाई सम्पादन गरी छिट्टै सार्वजनिक गर्ने निर्णय गर्यो।
निर्वाचन प्रचारप्रसारलाई प्रभावकारी बनाउन अग्नि सापकोटाको नेतृत्वमा जगतनाथ खतिवाडा र गोविन्द आचार्य सदस्य रहेको केन्द्रीय प्रचार समिति गठन गरिएको छ। समितिले अन्य विभिन्न पक्षसँग आवश्यक परामर्शसहित प्रचार कार्यलाई व्यवस्थित रूपमा अघि बढाउने निर्णय गरेको छ।














