नयाँ पुस्ता (Gen Z) र राष्ट्रका नाममा अध्यक्ष प्रचण्डको सम्बोधन

-


     हिडन खबर    
     माघ १९ गते २०८२ मा प्रकाशित


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ पुस्ता (Gen Z) र राष्ट्रलाई सम्बोधन गर्दै युवाहरूलाई स्वतन्त्र चिन्तन र परिवर्तनको यात्रामा सहभागी हुन आह्वान गरेका छन्।

प्रचण्डले आफ्नो सम्बोधनमा आफू केवल एक नेताको रूपमा नभई एक बाबु, एक योद्धा र देशको माटोमा रगत–पसिना मिसाएको साधारण नागरिकको रूपमा प्रस्तुत भएको बताए। उनले विगतका संघर्ष र बलिदानलाई स्मरण गर्दै हजारौँ शहीदहरूको सपना पूरा गर्ने जिम्मेवारी अझै बाँकी रहेको स्पष्ट पारे।

उनले भ्रष्टाचार अन्त्य, पारदर्शिता र बलियो सरकारका लागि युवाहरूले उठाएका मागहरू जनयुद्धकै एजेन्डा भएको उल्लेख गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था राजनीतिक स्थिरता र विकासका लागि अपरिहार्य भएको धारणा व्यक्त गरे।

प्रचण्डले आफ्नो व्यक्तिगत जीवनका पीडा र क्षतिहरूलाई स्मरण गर्दै यो संघर्ष व्यक्तिगत नभई सामूहिक सपना पूरा गर्ने अभियान भएको बताए। उनले भने, “परिवर्तन अनिवार्य छ, र म यो सुनिश्चित गर्नेछु कि त्यो परिवर्तन भएरै छाड्नेछ।”

युवापुस्तालाई सम्बोधन गर्दै उनले सामाजिक सञ्जालका भ्रममा नफस्न चेतावनी दिए। “हरेक चम्किलो चिज हिरा हुँदैन,” भन्दै उनले युवाहरूलाई प्रश्न गर्न, दबाब दिन र स्वतन्त्र सोच राख्न आग्रह गरे।

उनले आगामी २० वर्ष परीक्षण र त्रुटि गर्दै नयाँ नेताहरू जाँच्ने समय नभएको भन्दै गम्भीरतापूर्वक सोच्नुपर्ने आवश्यकता औंल्याए। शहीदहरूको बलिदानलाई नमन गर्दै उनले युवाहरूलाई विदेशिनु नपर्ने नेपाल निर्माणमा जुट्न आह्वान गरे।