
काठमाडौं । चलचित्र ‘द ब्ल्यू लाइट’ आजदेखि देशभरका हलमा प्रदर्शनमा आएको छ। फ्राइडे रिलिज अन्तर्गत रिलिज भएको यस चलचित्रले बिहीबार सम्पन्न प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएको छ।
बलिराम चौहानको निर्देशनमा बनेको यो चलचित्र साइकोलोजिकल थ्रिलर जनरामा तयार गरिएको हो। प्रिमियरमा उपस्थित दर्शक तथा समीक्षकहरूले यसलाई फरक स्वाद बोकेको नेपाली चलचित्रका रूपमा मूल्यांकन गरेका छन्।

दर्शकहरूले चलचित्रको पार्श्वसंगीतले थ्रिलरको माहोल अन्त्यसम्म कायम राखेको प्रतिक्रिया दिएका छन्। एउटै ढाँचाका चलचित्र हेरेर वाक्क भएका दर्शकका लागि ‘द ब्ल्यू लाइट’ले नयाँपन दिने विश्वास प्रिमियरमा देखिएको उत्साहले प्रष्ट पारेको छ।
खलपात्रको भूमिकामा देखिएकी सृष्टि श्रेष्ठको अभिनय विशेष प्रशंसनीय भएको छ। कलाकार तथा निर्देशक दीपक आचार्य (काकु) ले चलचित्रलाई ‘फरक स्वादको उत्कृष्ट प्याकेज’ भन्दै सिनेमाटोग्राफीमा नरेन्द्र मैनालीको जादु र कलाकारहरूको अभिनयले दर्शकलाई हलभित्र बाँधेर राख्ने दाबी गरे।

निर्माता अविरल थापाले फिल्म पारखीहरूका लागि मैनालीको छायांकनको जादु अनुभव गर्न ‘द ब्ल्यू लाइट’ हेर्नैपर्ने बताए। प्रिमियरमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री नीति शाहलगायतका सेलेब्रिटीहरूले पनि चलचित्रको प्राविधिक पक्ष र कथावाचन शैलीको प्रशंसा गरेका थिए।
मुख्य भूमिकामा रहेकी तथा कार्यकारी निर्माताको जिम्मेवारी सम्हालेकी बेनिशा हमालले प्रिमियरपछि खुसी व्यक्त गर्दै भनिन्, “नेपालमा साइकोलोजिकल थ्रिलर बनाउनु ठूलो चुनौती थियो। तर दर्शक र चलचित्रकर्मीले दिएको प्रतिक्रिया हाम्रो मेहनत सफल भएको प्रमाण हो। यो फिल्म मेरो लागि अभिनय मात्र होइन, एउटा सपना पनि हो।”

निर्देशक चौहानले कलाकारहरूले आफूले भन्न खोजेको कथालाई पर्दामा जीवन्त उतारिदिएकोमा आभार व्यक्त गर्दै प्रिमियरमा पाएको प्रशंसा आम दर्शकबाट पनि दोहोरिने विश्वास व्यक्त गरे।
चलचित्रमा बेनिशा हमाल, सृष्टि श्रेष्ठ, अर्पण थापा, आयुशमान देशराज जोशी, महेश त्रिपाठी र सुरक्षा इटानी मुख्य भूमिकामा छन्। बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्मा छन्।

स्काइफल पिक्चर्सले प्रस्तुत गरेको ‘द ब्ल्यू लाइट’मा भोलानाथ कटुवाल र रमन ग्रे सह-निर्माता रहेका छन्। कार्यकारी निर्मातामा छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल छन्। आकाश उखेडा मुख्य सहायक निर्देशक, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर र दिलीप पन्त निर्माण नियन्त्रक हुन्।
आज (शुक्रबार) बाट देशभरका हलमा प्रदर्शनमा आएको यो चलचित्रले प्रिमियरमा जस्तै आम दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया पाउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ।













