
काठमाडौं, साउन १६ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन चेयरपर्सन उत्सव श्रेष्ठको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी (जोन मिटिङ) सफलतापूर्वक सम्पन्न भएको छ।
काठमाडौंको बालाजुस्थित स्मार्ट क्याफेमा आयोजित बैठकमा जोनअन्तर्गतका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकलाई समयमै, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउन जोन चेयरपर्सन श्रेष्ठले उत्कृष्ट नेतृत्व, समन्वय र व्यवस्थापन क्षमता प्रदर्शन गरेको सहभागीहरूले बताएका छन्।

बैठकमार्फत क्लबहरूको वार्षिक योजना, सेवा गतिविधि, सदस्यता विस्तार तथा लायन्सका आगामी कार्यक्रमबारे छलफल गरिएको थियो। जोनअन्तर्गतका सबै क्लबबीच सहकार्य, समन्वय र सेवा कार्यलाई थप प्रभावकारी बनाउने विषयमा समेत सुझाव आदान–प्रदान गरिएको थियो।
कार्यक्रमको सफल आयोजनामा क्लस्टर चिफ सुवर्ण कँडेल तथा रिजन चेयरपर्सन राजकुमार बन्जाराको महत्वपूर्ण सहयोग र समन्वय रहेको उल्लेख गरिएको छ। उनीहरूले जोन चेयरपर्सनसँगको सहकार्यमार्फत बैठकलाई सफल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेका थिए।

डिस्ट्रिक्ट ३२५ के नेपालका मिशन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन उत्सव श्रेष्ठ, क्लस्टर चिफ सुवर्ण कँडेल तथा रिजन चेयरपर्सन राजकुमार बन्जारालाई सफल बैठक आयोजनाका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन्। उनले उनीहरूको समर्पण, व्यावसायिकता र सक्रिय नेतृत्व लायन्स अभियानका लागि प्रेरणादायी रहेको बताए।










