
बागलुङ, माघ १४
गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले आयुर्वेद र आधुनिक चिकित्सा पद्धति सँगै लैजान आवश्यक रहेको बताएका छन्। धौलागिरी आयुर्वेद अस्पताल, बागलुङको नयाँ व्यवस्थापन समितिको पदस्थापन कार्यक्रममा बोल्दै मन्त्री पाठकले यस्तो धारणा व्यक्त गरेका हुन्।
नेपालका सात प्रदेशमध्ये स्वास्थ्य क्षेत्रमा गण्डकी प्रदेश अग्रपंक्तिमा रहेको उल्लेख गर्दै उनले गण्डकी आयुर्वेद तथा धौलागिरी आयुर्वेद अस्पतालमा अन्तरंग सेवा पनि सञ्चालन गरिएको जानकारी दिए।

कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य दिपेन्द्र बहादुर थापाले आयुर्वेद अस्पतालको सेवा गुणस्तर अभिवृद्धि, सेवाग्राही सन्तुष्टि, सुशासन प्रवर्द्धन तथा संस्थागत विकासमा समितिले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
त्यस अवसरमा बागलुङ नगरपालिकाका नगर प्रमुख वसन्त कुमार श्रेष्ठ र धौलागिरी प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रीप्रसाद शर्माले पनि मन्तव्य व्यक्त गरेका थिए।

गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषद्ले गत माघ ४ गते धौलागिरी आयुर्वेद अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा तेजबहादुर कुँवर ‘सन्तोष’ तथा सदस्यहरूमा सन्दिप कँडेल र पार्वती अधिकारीलाई नियुक्त गरेको थियो। नव नियुक्त अध्यक्ष कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कार्यलय प्रमुख डा. सरद पन्थीले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन वरिष्ठ कविराज निरीक्षक डा. कमल विक्रम पौडेलले गरेका थिए।














