अभिनेता विजय बरालको गायनमा डेब्यु, ल्याए ‘विधिको शासन’

-


     हिडन खबर    
     माघ १५ गते २०८२ मा प्रकाशित


काठमाडौं । रंगमञ्च र चलचित्रमा जीवन्त अभिनयले दर्शकको मन जितेका अभिनेता विजय बराल अब गायनमा डेब्यु गरेका छन्। उनले ‘विधिको शासन’ बोलको गीतमार्फत नयाँ यात्रा सुरु गरेका हुन्।

शौरभ कार्कीको शब्द र प्रशान्त शिवाकोटीको संगीतमा तयार गीतले देशको राजनीतिक विसंगति र ‘जेनजी आन्दोलन’ले उठाएका मुद्दा उजागर गरेको छ। गीतले विकास र समृद्धिका लागि विधिको शासन अपरिहार्य हुने सन्देश दिन्छ।

बराल भन्छन्, “यो मेरो पहिलो गीत हो। गायक नभए पनि साथीहरूको हौसला र विश्वासले प्रयास गरेको हुँ।” उनले थपे, “यो व्यक्तिगत विरोध वा समर्थन होइन, सत्ता र प्रणालीमाथि गरिएको व्यङ्ग्य हो।”

गीतको भिडियो मनिष राउतको अवधारणामा बनेको छ, जसमा २०४० सालदेखि हालसम्मका आन्दोलनका दृश्यहरू समावेश छन्। यसले गीतलाई ऐतिहासिक ‘डकुमेन्ट्री’को गहिराइ दिएको छ।

बराल हालै निर्देशक सरोज पौडेलको ‘सिन्दुरे जात्रा’मा अनुबन्ध भएका छन्, जहाँ उनको जोडीमा अभिनेत्री अञ्जना बराइली देखिनेछिन्। यसअघि उनीहरू पौडेलकै ‘पूर्णबहादुरको सारङ्गी’मा अभिनय गरेका थिए, जुन नेपाली चलचित्र इतिहासकै सर्वाधिक कमाउने फिल्म बनेको थियो।

Song Link : https://www.youtube.com/watch?v=rhrAm4-Y-qE&list=RDrhrAm4-Y-qE&start_radio=1