बागलुङमा तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिताको तयारी पूरा

-


     हिडन खबर    
     माघ १३ गते २०८२ मा प्रकाशित


बागलुङ माघ १२

बागलुङ एकता क्लबको आयोजनामा हुन लागेको तेस्रो स्मृति रनिङ शिल्ड फुटबल प्रतियोगिता–२०८२ का सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ। प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी क्लबले सार्वजनिक गरेको हो। 

विगत तीन वर्षदेखि बागलुङ एकता क्लबका दिवंगत सदस्यहरूको स्मरणमा आयोजना हुँदै आएको यो प्रतियोगिता माघ १३ गतेदेखि १७ गतेसम्म बागलुङ नगरपालिका–१ स्थित बंगचौर खेलमैदानमा सञ्चालन हुने भएको छ। प्रतियोगितामा जिल्लाभित्र तथा बाहिरका गरी कुल ११ टिम सहभागी हुने खेल संयोजक स्वदेश बुढाथोकीले जानकारी दिनुभयो। 

प्रतियोगिताको विजेता टिमले रु. २,००,००० नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले रु. १,००,००० नगद पुरस्कार पाउनेछ। त्यस्तै, सेमिफाइनलमा पुग्ने प्रत्येक टिमलाई रु. २०,००० नगद प्रदान गरिनेछ। प्रतियोगितामा उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक लगायत विभिन्न विधामा व्यक्तिगत पुरस्कारको व्यवस्था गरिएको क्लबका सचिव रमेश भण्डारीले जानकारी दिनुभयो। 

बागलुङ एकता क्लबले प्रतियोगितामार्फत स्थानीय खेलाडीको क्षमता अभिवृद्धि गर्नुका साथै फुटबल खेलको विकास र खेलकुदमैत्री वातावरण सिर्जना गर्ने उद्देश्य लिएको अध्यक्ष साहिल खड्काले बताउनुभयो। प्रतियोगितालाई भव्य र अनुशासित रूपमा सम्पन्न गर्न आवश्यक सुरक्षा, व्यवस्थापन तथा प्राविधिक तयारी पूरा भएको क्लबले दाबी गरेको छ।