
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सिंहदरबारमा आयोजित राष्ट्रिय सभा संसदीय दलको बैठकलाई सम्बोधन गर्नुभयो।
बैठकमा सम्बोधन गर्दै संयोजक प्रचण्डले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी पहिलो बन्ने प्रबल सम्भावना रहेको बताउनुभयो। उहाँले पार्टीले २० वटा दललाई समेटेर एउटै पार्टी निर्माण गरे पनि सबै पक्षलाई समेट्ने गरी प्रतिनिधि सभाका उम्मेदवार चयन गरिएको र समानुपातिक उम्मेदवार छनोटमा समेत विशेष ध्यान दिइएको स्पष्ट पार्नुभयो। जनमत, कार्यक्षमता र छविलाई आधार बनाएर उम्मेदवार छनोट गरिएकाले नेकपाका उम्मेदवारहरूले निर्वाचनमा सकारात्मक नतिजा निकाल्ने विश्वास व्यक्त गर्नुभयो।
संयोजक प्रचण्डले जेन्जी आन्दोलन र त्यसपछिका घटनाक्रममा नेकपाले लिएको पहलका कारण पार्टीको छवि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अन्य पुराना दलको तुलनामा सकारात्मक बनेको उल्लेख गर्नुभयो। उहाँका अनुसार, जेन्जी युवाहरूले पनि तीन प्रमुख दलमध्ये नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्व फरक रहेको महसुस गरेका छन्।
त्यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीमा देखिएको प्रारम्भिक उत्साह विस्तारै ती पार्टीका उम्मेदवारहरूको गतिविधिका कारण कमजोर हुँदै गएको र जनताले उनीहरूको गतिविधिलाई गम्भीर रूपमा हेरिरहेको बताउनुभयो।
मनोनयनपछि प्रयोग गरिएका सवारी साधन तथा उनीहरू कसको सहयोगमा अघि बढेका हुन् भन्ने कुरा सार्वजनिक हुँदै जाँदा त्यतातिर बगेको हावा क्रमशः कमजोर बन्दै गएको पनि उहाँले उल्लेख गर्नुभयो।
गोरखामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ न्यौपानेको जित करिब–करिब सुनिश्चित भएको संयोजक प्रचण्डले बताउनुभयो। उहाँले उम्मेदवारी फिर्ता र डा. भट्टराईसँग भएका संवादले अब डा. भट्टराई र नेपाली कम्युनिष्ट पार्टीबीचको सम्बन्ध क्रमशः सुधार हुँदै जाने विश्वास व्यक्त गर्नुभयो।
पार्टीले दिएका उम्मेदवारविरुद्ध देखिएका अधिकांश असन्तुष्टिहरू संवादमार्फत समाधान गरिएको र बाँकी केही ठाउँमा अनुशासनात्मक कारबाहीमार्फत समाधान हुँदै गएको उल्लेख गर्दै उहाँले निर्वाचनको नतिजा पार्टीकै पक्षमा आउने विश्वास व्यक्त गर्नुभयो।
बैठकले बेदुराम भुसाललाई राष्ट्रिय सभा संसदीय दलको नेता नियुक्त गरेको छ। त्यस्तै, प्रमुख सचेतकमा मदनकुमारी शाह ‘गरिमा’ र सचेतकमा गंगा बेलवासेलाई नियुक्त गरिएको छ।
दलका नेता नारायणकाजी श्रेष्ठले राजीनामा दिएर निर्वाचन उम्मेदवार बनेपछि राष्ट्रिय सभामा प्रभावकारी भूमिका निर्वाह गर्ने उद्देश्यसहित नयाँ नेतृत्व टोली गठन गरिएको पार्टीले जनाएको छ।














