विभिन्न पार्टी परित्याग गर्दै ५२ युवा नेकपामा प्रवेश

-


     हिडन खबर    
     माघ १२ गते २०८२ मा प्रकाशित


निर्वाचन स्वच्छ र निष्पक्ष भए हाम्रो पार्टी पहिलो बन्ने सम्भावना

काठमाडौं। क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाललगायत विभिन्न राजनीतिक दल परित्याग गर्दै काभ्रेपलाञ्चोकसहित विभिन्न जिल्लाका ५२ जना युवा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन्।

प्रतिनिधि सभा निर्वाचन २०८२ मा काभ्रेपलाञ्चोक क्षेत्र नं. १ का उम्मेदवार सूर्य मान तामाङ ‘दोङ’को पहलमा उनीहरू आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रवेश गरेका हुन्। पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खादा र माला लगाएर नवप्रवेशी युवाहरूलाई स्वागत गर्नुभयो।

पार्टी प्रवेशका क्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टीका बागमती प्रदेश कमिटी सदस्यले आफूहरू वैचारिक स्पष्टतासहित राजनीतिमा सक्रिय रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लगायत अन्य दलबाट प्रस्ताव आए पनि नेपाली कम्युनिष्ट पार्टी र यसको नेतृत्वप्रति प्रतिबद्ध भई गोलबद्ध भएको बताए।

नवप्रवेशीहरूलाई स्वागत गर्दै संयोजक प्रचण्डले देशलाई वर्तमान संकटबाट मुक्त गराउन नेकपालाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले पछिल्लो समय क्रान्तिकारी कम्युनिष्टसहित एमालेलगायत विभिन्न वामपन्थी दलबाट नेकपामा प्रवेश गर्ने क्रम तीव्र रूपमा बढिरहेको जानकारी दिनुभयो।

चुनावका क्रममा हुने आर्थिक तथा अन्य प्रकारका चलखेल रोक्न सकिए आगामी निर्वाचनमा नेकपा पहिलो शक्ति बन्ने सम्भावना प्रबल रहेको उहाँको भनाइ थियो।

प्रचण्डले भन्नुभयो, “निर्वाचन स्वच्छ र निष्पक्ष बनाउन सकियो भने आगामी निर्वाचनमा पहिलो पार्टी नेकपा बन्न सक्छ। कमरेडहरू, अगाडि बढौँ। यो पार्टीलाई बलियो बनाएर मात्र राष्ट्र र जनताको हित सुनिश्चित गर्न सकिन्छ। जनवादी क्रान्तिपछि अब समाजवादी क्रान्तिका लागि हामी सबै एकजुट भएर अघि बढ्नुपर्छ।”