जेष्ठ नागरिक समाजको १५औँ वार्षिकोत्सव सम्पन्न

-


     कविराज घनाल     
     माघ ६ गते २०८२ मा प्रकाशित



लेखनाथ, ५ माघ

पोखरा महानगरपालिका वडा नं. ३१ शिशुवा जेष्ठ नागरिक समाजको १५औँ वार्षिकोत्सव समारोह भव्य र सभ्य रूपमा सम्पन्न भएको छ। जेष्ठ नागरिकको सम्मान, संस्कार संरक्षण तथा संस्थागत विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवालाहरूले जेष्ठ नागरिकको भूमिका र दायित्वबारे जोड दिएका छन्।

कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. २८ का वडा अध्यक्ष श्रीकृष्ण गुरुङले समाजका संस्थापक टिकराम वास्तोलालाई धन्यवाद दिँदै जेष्ठ नागरिक समाजको निरन्तरताले सामाजिक एकता मजबुत बनेको उल्लेख गर्नुभयो। उहाँले जग्गा प्राप्तिसँगै भवन निर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गर्दै “पहिले बस्न मिल्ने घर आवश्यक हुन्छ, त्यसपछि अन्य गतिविधि विस्तार हुँदै जान्छन्,” भन्नुभयो।

जेष्ठ नागरिकलाई सम्मान र संरक्षण गर्नु राज्यको दायित्व भएको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धलाई व्यवस्थित र मर्यादित ढंगले अघि बढाउन आग्रह गर्नुभयो। साथै, सबै जेष्ठ नागरिकको दीर्घ, स्वस्थ र सम्मानित जीवनको कामना व्यक्त गर्नुभयो।

पत्रकार कविराज घनालले जेष्ठ नागरिक समाजका अगुवा भएकाले उनीहरूको दुःख–सुखमा साथ दिन सबैलाई आग्रह गर्दै उहाँहरूको योगदानले नै आजको अवस्था आएको र धर्म, संस्कृति तथा संस्कार जोगाउने दायित्व उनीहरूको काँधमा आएको बताउनुभयो। राज्यले उनीहरूको सेवा, योगदान र समाजले लिनुपर्ने धारणा स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो।

सो अवसरमा प्रादेशिक जनरल तथा सुष्मा रोग अस्पताल मोहोरियाका अध्यक्ष चन्द्रराम जमरकट्टेलले सन्तुष्ट र शान्तिपूर्ण जीवन नै ईश्वरीय आत्मप्राप्तिको आधार भएको धारणा व्यक्त गर्नुभयो। उहाँले नजिकै रहेको अस्पतालले जेष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिँदै आएको जानकारी गराउँदै नियमित स्वास्थ्य परीक्षण र सेवा लिन आग्रह गर्नुभयो। साथै, आफ्ना स्वर्गीय पिताको आत्माको चिरशान्तिको कामना गर्दै संस्थाको भवन निर्माणका लागि रु. २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा लिज्जा अस्पतालका अध्यक्ष बाबुराम गिरीले संस्थागत रूपमा करिब तीन सयको हाराहारीमा जेष्ठ नागरिक आबद्ध रहेको जानकारी दिँदै भजन, नृत्य तथा सांस्कृतिक कार्यक्रममार्फत आफ्ना परम्परा र संस्कार जोगाउने दायित्व जेष्ठ नागरिकको भएको बताउनुभयो। उहाँले संस्कार संरक्षण केवल विगतको सम्झना नभई भावी पुस्तामा हस्तान्तरण गर्नुपर्ने साझा जिम्मेवारी भएकोमा जोड दिनुभयो।

यस अवसरमा लिज्जा नेवा: खलका पूर्व अध्यक्ष अर्जुन ताम्राकार, समाजसेवी कृष्णप्रसाद ढुङ्गाना, पोखरा महानगरपालिकाका कर्मचारी मीना भण्डारी, हरिहर आश्रम भक्तपुरका अध्यक्ष विष्णुबहादुर आचार्य, संस्थाका सल्लाहकार बादेव जमरकट्टेल, इन्द्रबहादुर थापा तथा ओम शान्तिकी प्रमुख सविता दिदी लगायतले जेष्ठ नागरिकका कर्तव्य र अधिकार, सामाजिक सम्मान तथा पारिवारिक भूमिकाबारे धारणा राख्नुभएको थियो।
कार्यक्रममा संस्थाको हित र विकासमा योगदान पुर्‍याउने दामोदर लामिछाने, कृष्णप्रसाद ढुङ्गाना, बलराम थापा, सुरेन्द्र अधिकारी तथा कृष्णप्रसाद लामिछानेलाई सम्मान गरिएको थियो।

सोही अवसरमा संस्थाका अध्यक्ष ताराप्रसाद पौडेलले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो भने सचिव बोधराज गौतमले सचिवको प्रतिवेदन प्रस्तुत गर्नुभयो। कार्यक्रमको स्वागत उपाध्यक्ष पद्मा वास्तोलाले गर्नुभएको थियो। समारोहलाई थप आकर्षक बनाउन बालबालिकाहरूले स्वागत नृत्य तथा भजन प्रस्तुत गरेका थिए।

जेष्ठ नागरिकको अनुभव, संस्कार र योगदान समाजको अमूल्य धरोहर भएको सन्देशसहित सम्पन्न भएको यस वार्षिकोत्सवले स्थानीय तहमा जेष्ठ नागरिकप्रतिको सम्मान र संरक्षणको आवश्यकता अझ स्पष्ट पारेको छ।