आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे सर्वपक्षीय बैठक

-


     सुवास आचार्य     
     माघ ६ गते २०८२ मा प्रकाशित


बागलुङ, माघ ५

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रूपमा सम्पन्न गराउन बागलुङमा निर्वाचन अधिकृतको कार्यालयले तयारी तीव्र पारेको छ।

निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि आइतबार बागलुङ क्षेत्र नं १ अन्तर्गत सर्वदलिय बैठक सम्पन्न भएको हो। बैठकमा भोलि माघ ६ गते हुने उम्मेदवारको मनोनयन दर्ताका लागि राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरूलाई फरक–फरक समय निर्धारण गरिएको छ। जसअनुसार बिहान १० बजेदेखि मनोनयन पत्र बुझाउन सक्ने व्यवस्था गरिएको छ। उम्मेदवारको मनोनयन पत्र तथा त्यससँग संलग्न गर्नुपर्ने कागजातको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट उपलब्ध गराइनेछ।

बैठकमा दलका प्रतिनिधिहरूले निर्वाचन आयोगबाट जारी भएका निर्देशन, आचारसंहिता तथा निर्वाचनसँग सम्बन्धित प्रचलित ऐन–कानूनको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका छन्।

मुख्य निर्वाचन अधिकृत सीता शर्मा अधिकारीको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दल, स्थानीय प्रशासन, सुरक्षा निकाय, पत्रकार तथा निर्वाचन अधिकृतबीच आचारसंहितासम्बन्धी छलफल भएको थियो। जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता २०८२ बारे जानकारी दिँदै कानुन विपरीतका गतिविधि गर्नेहरूलाई दण्ड–सजाय हुने बताए। साथै, निर्वाचन आयोग ऐन २०७३ को दफा २३ अनुसार आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारलाई एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेदवारी रद्दसम्मको सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गरे।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले राजनीतिक दलहरूले आचारसंहिताको पालना गर्दा उनीहरूलाई नै फाइदा पुग्ने बताए। बैठक सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माको सञ्चालनमा सम्पन्न भएको थियो।

जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता हुनेछ। माघ ७ गते उम्मेदवारविरुद्ध विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेको उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गर्ने, माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने तथा सोही दिन निर्वाचन चिह्न प्रदान गरिनेछ।

बागलुङ क्षेत्र नं १ का लागि जिल्ला समन्वय समिति बागलुङको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ।

बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, बरेङ गाउँपालिका र काठेखोला गाउँपालिका पर्दछन्। यस क्षेत्रमा ४ पालिका, ३७ वडा, ९८ हजार ४६ मतदाता, ४८ मतदान स्थल तथा ११५ मतदान केन्द्र रहेका छन्।