
काठमाडौँ, ४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफल बनाउन राष्ट्रिय समाचार समिति (रासस) लगायतका सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो।
राससमा अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई आइतबार सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयपत्र वितरण गर्दै मन्त्री खरेलले जिम्मेवार, जवाफदेही र व्यावसायिक सञ्चारमाध्यमका रूपमा राससले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो।
मन्त्री खरेलले भन्नुभयो, “फागुन २१ मा निर्वाचन हुँदैछ। निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्नेछ। मतदाता, राजनीतिक दल तथा सरोकारवालामा सचेतना पु¥याउनुपर्ने अवस्थामा सञ्चारमाध्यमको गहन जिम्मेवारी हुन्छ। विगतमा पनि राससले असाध्यै महत्वपूर्ण भूमिका खेलेको छ, अहिले पनि सोहीअनुसारको भूमिका निर्वाह गर्ने विश्वास लिएको छु।”
पछिल्लो समय राससले आफूलाई निखार्दै अघि बढिरहेको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि सेवा प्रवाहलाई अझ प्रतिस्पर्धी र गुणस्तरीय बनाउन सुझाव दिनुभयो।
फरक प्रसङ्गमा मन्त्री खरेलले समयको सीमितताका बीचमा पनि अन्तरिम सरकारले दीर्घकालीन महत्वका काम गरेको बताउनुभयो। उहाँले देश बचाउन र बनाउन आ–आफ्नो क्षेत्रबाट इमानदारिताका साथ लाग्न सम्पूर्ण तह र तप्कालाई आह्वान गर्नुभयो।
सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा योजनामा सहभागिता हुनु बचत मात्र नभई योगदानकर्ताको जीवनको सुरक्षा भएको बताउनुभयो।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल पत्रकार महासङ्घको नेतृत्वमा रहँदा श्रमजीवी पत्रकारको हकहितका मुद्दा उठाउँदै आएको स्मरण गर्दै राससमा कार्यरत ज्यालादारी तथा करार सेवामा आबद्ध जनशक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सकेकामा खुसी व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “त्यो बेलाको अभियान अहिले पूरा गर्न सकेको छु।”
आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थितिमा रासस र कोषबीच अस्थायी, ज्यालादारी तथा करार सेवामा कार्यरत जनशक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नेपाल सरकारले सार्वजनिक संस्थामा कार्यरत जनशक्तिलाई पनि कोषमा आबद्ध गराउने व्यवस्था लागू गरेपछि राससमा कार्यरत १७ जना ज्यालादारी तथा करार सेवामा कार्यरत जनशक्ति लाभान्वित भएका हुन्।
कोषमा आबद्ध हुने योगदानकर्ताले पाउने पारिश्रमिकको ६० प्रतिशतलाई आधार मानी त्यसको २० प्रतिशत रासस र ११ प्रतिशत योगदानकर्ताका तर्फबाट गरी मासिक ३१ प्रतिशतका दरले कोषमा सञ्चय हुनेछ। योगदानकर्ताले कोषबाट औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अपाङ्गता सुरक्षा, आश्रित परिवार सुरक्षालगायतका सुविधा पाउनेछन्। हाल नेपालमा करिब २६ लाख ५० हजार योगदानकर्ता कोषमा आबद्ध छन्।












