चलचित्र ‘शिवांश’को गीत सार्वजनिक

-


     हिडन खबर    
     माघ ४ गते २०८२ मा प्रकाशित


काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो। 

‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ। गीतमा राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द तथा राजनराज स्वयंको संगीत रहेको छ। 

लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग गरिएको छ। गाउँबेसीमा प्रचलित मिठासपूर्ण शब्द र लयले गीतलाई आकर्षक बनाएको छ। 

गीतमा प्रेमी–प्रेमिकाले एकअर्कालाई गरेको तारिफ प्रस्तुत गरिएको छ। भाग्य, मायामोह, प्रेम र आकर्षणजस्ता भावनाहरू गीतमा समेटिएका छन्। गीतको भिजुअलमा निर्माण पक्षले विशेष मेहनत गरेको देखिन्छ।

विक्रम चौहानको कोरियोग्राफी रहेको भिडियोमा चलचित्रका मुख्य कलाकार तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय छ।

महाशिवरात्रिको अवसर पारेर चलचित्र ‘शिवांश’ फागुन १ गते रिलिज हुने भएको छ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने यस चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन्। यो उनको पहिलो निर्देशकीय प्रयास हो। चलचित्रका निर्माता अञ्जान केसी हुन्।

प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्। साथै विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टीका निरौला, कुन्दनलगायत कलाकारको अभिनय रहनेछ।

चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्। सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। स्क्रिनप्ले बारत लिम्बूले तयार पारेका छन्।

गीतमा विप्लव प्रतीक र राजनराज शिवाकोटीको रचना रहनेछ भने संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले दिएका छन्। स्वरमा राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारी रहनेछन्।

चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गरेका छन् भने कोरियोग्राफी विक्रम चौहानको रहनेछ। प्रोडक्सन म्यानेजर मिलन मानन्धर, आर्ट डिरेक्टर तथा प्रोडक्सन डिजाइनर प्रतीक चौधरी रहेका छन्।

भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर विराज खड्का हुन् भने भीएफएक्स प्रोडुसर आदेश सुब्बा (गुडरेज पिक्चर्स) रहेका छन्। कस्ट्युम कमल मिश्र, मेकअप आर्टिस्ट तुलसा लिम्बू र पोस्टर फोटोग्राफी युवाहाङ राईले गरेका छन्।

मुख्य सहायक निर्देशक बारत लिम्बू हुन्। स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्। डीओपी सरद महतो हुन् भने कार्यकारी निर्माता सम्भू थापा रहेका छन्।

पोस्ट–प्रोडक्सन चलचित्र चौतारीले गरेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (डीसीएन)ले गर्नेछ।