चुनावी प्रचारमा पाँच दलीय गठबन्धन: बागलुङ नगरपालिकाको नारायणस्थानबाट सुरु

- काठेखोला गाउँपालिकामा धम्जाबाट सुरु

-


     राजनैतिक व्यूरो    
     वैशाख १७ गते २०७९ मा प्रकाशित


बैशाख ३० गतेको स्थानिय तह निर्वाचनलाई लक्षित गर्दै पाँच दलीय गठबन्धन चुनावी मैदानमा होमिएको छ ।

गठबन्धनले आज शनिबारदेखि बागलुङ नगरपालिकाकाे वडा नम्बर १४ नारायणस्थानबाट चुनावी प्रचारप्रसार कार्यक्रम सुरु गरेको हो ।

बागलुङ नगरपालिकाको मेयरका उमेदवार बसन्त कुमार श्रेष्ठ, उप मेयरका उमेदवार राजु खड्का लगायत वडा अध्यक्ष, सदस्य सहित पाँच दलीय गठबन्धनका जिल्ला नेताहरूको उपस्थितिमा चुनावी कार्यक्रमको सुभारम्भं गरिएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुखका उम्मेदवार बसन्तकुमार श्रेष्ठले बागलुङ नगरपालिकामा सर्वप्रथम मितव्ययीता र सुशासन कायम गर्नका निम्ती पाँच दलिय गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्न बताए । उनले आगामी पाँच वर्षको स्पष्ट खाका सहित आफुहरु चुनावी मैदानमा होमिएको र कुरा मात्र भन्दा पनि काम गर्नका निम्ती आफ्नो उम्मेदवारी रहेको बताउनुभएको ।

श्रेष्ठले नगरपालिकामा बढ्दै गएको भ्रष्टाचारको अन्त्यका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए । ‘टोलटोलका समस्यालाई बुझेर हरेक नागरिकको सहयोगमा नगरलाई समृद्धि बनाउनका लाग्ने छौं श्रेष्ठले भने,–‘नगरपालिकामा हरेक नागरिकको समस्यालाई काँग्रेसको नेतृत्वमा भएको स्थानिय सरकारले समाधान गर्नेछ । शिक्षा, स्वास्थ्य, कृषि, पुर्वाधार विकास लगायतका कार्यक्रमलाई बढि जोड दिएर जानेछौं ।’ उनले बलेवा नारायणस्थानमा रहेको वलेवा विमानस्थल कालोपत्रेको अवस्थामा रहेको र यहाँको नियमित उडान संचालनका निम्ती आफुहरुले पहल थाल्ने बताउनुभएको छ ।

कार्यक्रममा सहभागी मतदाताले बागलुङ नगरपालिकामा सुसासन कायम गर्नका निम्ती गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने बताएका थिए । उनिहरुले नेपाली काँग्रेसको तर्फबाट नगरप्रमुखको उम्मेदवार बसन्त कुमार श्रेष्ठ र नेकपा माओबादी केन्द्रबाट नगर उपप्रमुखका उम्मेदवार राजु खड्का सहित गठबन्धन भित्रका सवै दलका उम्मेदवारलाई एक जुट भएर जिताउनु पर्नेमा जोड दिएका थिए ।

काठेखोला गाउँपालिकामा धम्जाबाट सुरु

काठेखोलाको धम्जामा आयोजित कार्यक्रम

जिल्लाको काठेखोला गाउँपालिकामा पाँच दलीय गठबन्धनको चुनावी सभा शनिबार धम्जाबाट सुरु भएको छ ।
काठेखोला गाउँपालिका—३ धम्जामा चुनावी सभा आयोजना गरी गठबन्धनले काठेखोलाको निर्वाचन प्रचार अभियान सुरु गरेको हो । कार्यक्रममा बोल्दै नेपाली काँग्रेस बागलुङका सभापति जीत शेरचनले काठेखोलाको समृद्धि र विकासका लागि पाँच दलिय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन आग्रह गरिएको छ ।

कार्यक्रममा बोल्दै पाँच दलिय गठबन्धनको तर्फबाट गाउँपालिका अध्यक्षका साझा उम्मेदवार राजु थापाले स्थानीय विकास र पूर्वाधारका लागि आफुले काम गर्ने बताए । ‘यहाँको विकास र समृद्धिका लागि म तपाईहरुको घरदैलोमा मत माग्दै आएको छु,’ उनले भने,‘यो क्षेत्रको समग्र आर्थिक सामाजिक र भौतिक क्षेत्रको विकास लागि हामीले संकल्प गरेर अगाडि बढेका छौं ।’ उनले महिला दिदी बहिनीहरुलाई संगठित गर्दै सीप मूलक र उत्पादन मूलक तालिम प्रदान गरेर स्वरोगार बन्न सघाउने समेत बताए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता गठबन्धनका गाउँपालिका उपाध्यक्ष उम्मेदवार तेजबहादुर पुन तिलकले गाउँमै सहज ढंगबाट स्वास्थ्य शिक्षाको व्यवस्था गर्ने बताउनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज श्रीप्रसाद शर्माले ओलीको प्रतिगमन विरुद्ध अग्रगामी शक्तिको मोर्चा तयार भएको बताए । ‘संविधान र देश नै धरापमा पारेर ओलीले पटक पटक संसद विघटन गरे,’ उनले भने,‘त्यसको विरुद्धमा हामीले पार्टी भित्रैबाट विद्रोह ग¥यौं र अग्रगामी शक्तिहरुको मोर्चा बनायौं । अहिले हामी संयुक्त रुपमा गठबन्धन गरेर स्थानीय निर्वाचनमा होमिएका छौं । स्थानीय निर्वाचनमा ओली प्रवृत्तिका पक्षधरहरुलाई परास्त गरेर अग्रगमन पक्षलाई विजयी गराउन आग्रह गर्दछु ।’

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष लालबहादुर थापाले हुँदा छँदा दुई तिहाईको सरकार चलाउन नसकेर ओलीले संसद विघटन गरेकाले उनका अनुयायीहरुलाई स्थानीय सरकारको जिम्मा सुम्पिनु आफैलाई धोका दिनु भएको बताए । ‘केपी ओलीले दुई तिहाई बहुमतको सरकार चलाउन सकेनन् र देशलाई प्रतिगमनतर्फ धकेल्ने गरी संसद विघटन गरे,’ उनले भने,‘अहिले स्थानीय निर्वाचनमा फेरी उनकै अनुयायीहरु विकास र समृद्धिका सस्ता नारा लिएर तपाईको घर आगनमा आएका छन् । भएको सरकार चलाउन नसक्नेहरुको पछि लाग्नेबाट तपाईको गाउँ ठाउँको विकास र समृद्धि सम्भव छैन । त्यसैले पाँच दलिय गठबन्धनका साझा उम्मेदवारलाई मतदान गर्नुहोस् ।’

‘सुलभ रुपमा स्वास्थ्य शिक्षाको व्यवस्था गाउँमै गर्छौं,’ उनले भने,‘यहाँको नागरिकलाई सहज हुनेगरी योजनावद्ध ढंगले काम गर्छौं ।’ कार्यक्रममा काठेखोला—३ धम्जाका गठबन्धनका वडाध्यक्ष उम्मेदवार यामबहादुर श्रीसले विगतमा काम गर्दै गर्दा अधुरा रहेका कामहरु पूरा गर्नका लागि गठबन्धन उम्मेदवारहरुलाई मतदान गर्न आग्रह गरे ।

काठेखोला गाउँपालिकामा गठबन्धनको तर्फबाट रुख चिन्ह लिएर काँग्रेसका राजु थापा गाउँपालिका अध्यक्ष, गिलास चिन्ह लिएर गाउँपालिका उपाध्यक्षमा राष्ट्रिय जनमोर्चाका तेजबहादुर थापा तिलक उम्मेदवार बनेका छन् । काठेखोला—३ धम्जामा कलम चिन्ह लिएर वडाध्यक्षमा यामहादुर श्रीस, खुला वडा सदस्यमा रिमबहादुर थापा, कृष्णबहादुर थापा, महिला सदस्यमा देउरुपा खड्का र दलित महिला सदस्यमा सुन्तली विक उम्मेदवार बनेका छन् ।

राष्ट्रिय जनमोर्चाका रिम थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन नेकपा एकीकृत समाजवादी पार्टीका नविन थापाले गरेका थिए । कार्यक्रमका अवसरमा १८ जना युवाहरु नेकपा एमाले परित्याग गरी गठबन्धन उम्मेदवारहरुलाई सहयोग गर्ने गरी गठबन्धनमा समाहित भएका थिए ।

बागलुङ जिल्लामा सत्तारुढ दलहरु नेपाली काँग्रेस, नेकपा माओबादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकिकृत समाजबादी र जसपाको गठबन्धन रहेको छ ।