प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ?

-


     हिडन खबर    
     माघ २ गते २०८२ मा प्रकाशित


काठमाडौं । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजदेखि प्रदर्शनमा आएको छ। माघे संक्रान्तिको अवसर पारेर यो चलचित्र रिलिज गरिएको हो।

चलचित्रको मुख्य विषय बुवा–छोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा हो। नेपाली कलाकारमा उत्साह र लगाव छैन भन्ने धारणा राख्नेहरूलाई ‘मिरमिरे’ले जवाफ दिने विश्वास रहेको र यही कारण आफूले यसमा अभिनय गरेको दयाहाङले बताएका छन्।

‘मिरमिरे’ यम शेर्पाले लेखन तथा निर्देशन गरेको चलचित्र हो। यार्सा फिल्म्सको प्रस्तुति रहेको यसमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदीप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल रहेका छन्।

लाइन प्रोड्युसर वीरेन्द्र शाही, मुख्य सहायक निर्देशक सुदीप कुँवर, मेकअप आर्टिस्ट सञ्जु थलाङ लिम्बू र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्।

चलचित्र ‘मिरमिरे’को वितरण रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले गरेको हो।

१०५ मिनेटको रनटाइम रहेको यस चलचित्रले देशभर करिब १५० भन्दा बढी शो पाएको वितरण कम्पनी आरआर फिल्म्सले जानकारी दिएको छ। देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सका काठमाडौं उपत्यकाभित्रका हलमा १६ शो पाएको छ भने मोफसलमा २३ शो पाएको छ।

त्यस्तै, देशको दोस्रो ठूलो मल्टिप्लेक्स चेन आईएनआईका ६ आउटलेटमा ११ शो, बिग मुभिजले ३ शो, एफक्युब सिनेमाले ५ शो र वान सिनेमाजका २ आउटलेटमा ९ शो प्रदर्शन भइरहेको छ।