अरुण क्षेत्रीको मुख्य भूमिकामा चलचित्र ‘हन्टर’को छायांकन सम्पन्न

-


     हिडन खबर    
     माघ १ गते २०८२ मा प्रकाशित


४५ दिनमै सकियो ‘हन्टर’को छायांकन

काठमाडौं । चलचित्र ‘हन्टर’को छायांकन सम्पन्न भएको छ। एक्सन–ड्रामा शैलीमा निर्माण भइरहेको यो चलचित्रको छायांकन ४५ दिनमै पूरा भएको निर्माण पक्षले जनाएको छ। चलचित्र पश्चिम नेपालका विभिन्न स्थानमा छायांकन गरिएको हो।

चलचित्र ‘हन्टर’लाई जीवन सिंहले निर्देशन गरेका छन्। यो उनको पहिलो निर्देशन (डेब्यू) हो।

क्याच कक इन्टरटेनमेन्ट प्रालिको प्रस्तुतिमा बनेको यस चलचित्रको लेखक तथा सम्पादक पनि निर्देशक स्वयं जीवन सिंह नै हुन्।

चलचित्रले सुदूरपश्चिमको कथा प्रस्तुत गर्नेछ। निर्देशक सिंहका अनुसार ‘हन्टर’ एक एक्सन–इन्टरटेनर हुनेछ। उनले भनेका छन्, “चलचित्र वास्तविक पात्रको कथाबाट प्रेरित भए पनि त्यसमा फिक्शनाइज गरिएको छ।”

मुख्य भूमिकामा अरुण क्षेत्री रहेका छन्। साथै प्रकाश साह, गरिमा शर्मा, सरोज खनाल, रुजा राउत, सुप्रज्ञा शर्मा, रमेश बुढाथोकी, सुशील पोखरेल, रोशनी दाहाल, सोनी लगुन र गीता अधिकारीको अभिनय रहेको छ।

कृष्ण थापा डीओपी रहेका छन् भने एक्सन निर्देशन शुक्रराज साहले गरेका छन्। विक्रम स्वाँर र सञ्जय खिमजिमले कोरियोग्राफी गरेका छन्। संगीतकार बाबुल गिरीले संगीत दिएका छन्।

चलचित्रमा ट्राइडेन्ट कन्सेप्टको सहकार्य रहेको छ। कार्यकारी निर्माता रोयल भिमसेन हुन्। निर्मातामा ममता सिंह, गोविन्दराज रोक्का र राज ए. भट्ट रहेका छन् भने मनीष चन्द सह–निर्माता हुन्।

चलचित्रको प्रदर्शन मिति भने अझै तय गरिएको छैन। पोस्ट–प्रोडक्सनको सम्पूर्ण काम सकिएपछि मात्र रिलिज मिति घोषणा गरिने निर्देशक सिंहले जानकारी दिएका छन्।