चलचित्र ‘मिरमिरे’बारे अभिनेता दयाहाङ राईको भनाइ

-


     हिडन खबर    
     पौष २७ गते २०८२ मा प्रकाशित


काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र ‘मिरमिरे’ अभिभावकले सन्तानप्रति देखाएको भविष्यको कथा बोकेको सिनेमा भएको बताएका छन्। 

उनका अनुसार, छोरीसँग आफ्नो मुख्य कुरा लुकाएर बुवाले छोरीका अगाडि देखाएको खुसीलाई चलचित्र ‘मिरमिरे’ले प्रस्तुत गरेको छ। “यो भावनालाई भित्रैबाट कसरी देखाउन सकिन्छ भन्नेमा म सिनेमामा केन्द्रित भएको छु,” दयाहाङले भने। 

झट्ट हेर्दा बाबु–छोरीको कथा मात्र देखिए पनि गहिरिएर हेर्दा ‘मिरमिरे’मा धेरै पक्ष समेटिएको उनले बताए। 

दयाहाङ थप्छन्, “झट्ट हेर्दा केही नदेखिने तर सोचेर हेर्दा देखिने पक्ष भएकाले यस्तो कथामा काम गर्ने रुचि भएकैले मैले यो चलचित्र छानेको हुँ। कतिसम्म दुःखी वा खुसी हुनेभन्दा पनि हामी काममा ‘प्यासन’ छैन भन्छौँ। तर, यो चलचित्र भने ‘प्यासन’ले हेर्ने सिनेमा हो।” 

उनको भनाइमा, ‘मिरमिरे’ हेरेपछि दर्शकलाई सोच्न बाध्य पार्ने कथा रहेको छ। 

यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’ माघ १ गतेदेखि प्रदर्शनमा आउँदैछ। यार्सा फिल्म्सको प्रस्तुति रहेको यस चलचित्रमा दयाहाङ राईसँगै प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

चलचित्रका निर्माता निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङछिरिङ शेर्पा हुन्। सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा चलचित्र वितरक रोहित कट्टेल रहेका छन्। 

यस चलचित्रका लाइन प्रोड्युसर वीरेन्द्र शाही, मुख्य सहायक निर्देशक सुदीप कुँवर, मेकअप आर्टिस्ट सञ्जु थलाङ लिम्बु र निर्माण नियन्त्रक दिलीप पन्त रहेका छन्। 

चलचित्र ‘मिरमिरे’को देशभर वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।