
बागलुङ ।पुस २७
बागलुङको जैमिनी नगरपालिका–५ बिनामारेमा अवस्थित श्री सरस्वती प्राथमिक विद्यालयको ३५औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्प क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा रामुजी विक र राम पौडेलको उपस्थिति रहेको थियो। सो अवसरमा विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरू—जस्तै हाजिरीजवाफ, हिसाब दौड, बेलुन डान्स, मेच घुमाइ, चम्चा–गुच्चा, रिले दौड तथा भित्र–बाहिर खेल सञ्चालन गरिएका थिए।
अभिभावक, शिक्षक तथा विद्यार्थीहरूले बेलुन नृत्य लगायत अन्य मनोरञ्जनात्मक खेलकुद कार्यक्रम प्रस्तुत गरेका थिए।
विद्यालयका प्रधानाध्यापक दीपकबहादुर रोकाले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडाध्यक्ष ठगबहादुर क्षेत्रीले शैक्षिक विकासका लागि सरस्वती प्राथमिक विद्यालयले पुर्याएको महत्वपूर्ण योगदानको स्मरण गर्नुभयो।
उहाँले वडा कार्यालयले विद्यालयलाई सधैं सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै शैक्षिक क्षेत्रमा विभिन्न गतिविधिमा जोड दिइएको बताउनुभयो। शिक्षक, अभिभावक, विद्यार्थी तथा वडा जनप्रतिनिधिको सहकार्यबाट विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा जोड दिइरहेको उहाँको भनाइ थियो।
कार्यक्रममा शिक्षक तुलसी क्षेत्रीलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन प्रधानाध्यापक दीपकबहादुर रोकाले गर्नुभएको थियो।














