
बागलुङ।पुस २५
बागलुङको जैमिनी नगरपालिका–५, बिनामारेमा अवस्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको २७औँ वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम वडा नं. ५ का वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको प्रमुख आतिथ्यतामा तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण उपाध्यायको अध्यक्षतामा सम्पन्न भएको हो।
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षा समिति सदस्य श्री भवानी आचार्य, कार्यपालिका सदस्य गीता कुमारी विक, जनप्रतिनिधिहरू विष्णु शर्मा र लक्ष्मीदेवी चापागाईं, पूर्व वडा अध्यक्ष गोपालप्रसाद पौडेल, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू तिलादेवी शर्मा, दीपक बराल, रोका रामुजी विक, वडा बालमैत्री सहजकर्ता बुद्धि प्रसाद पौडेललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा विद्यालयस्तरीय विभिन्न प्रतियोगिताहरू—हाजिरीजवाफ, हिसाब दौड, बेलुन डान्स, म्युजिकल चेयर, चम्चा–गुच्चा दौड, रिले दौड तथा भित्र–बाहिर खेल—सञ्चालन गरिएका थिए। साथै प्रगतिशील आमा समूह, सिर्जनशील आमा समूह तथा विद्यार्थीहरूले भजन, रत्यौली, नृत्य र खेलकुद प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।
विद्यालयमा २६ वर्षभन्दा लामो समयसम्म प्रधानाध्यापकका रूपमा नेतृत्व प्रदान गर्नुभएका निवर्तमान प्रधानाध्यापक नारायण पौडेलले विद्यालयलाई करिब आठ हजार रुपैयाँ बराबरको स्टेशनरी सामग्री वितरण गर्नुभएको थियो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राम पौडेलले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रमुख अतिथि ठगबहादुर क्षेत्रीले विद्यालयले शैक्षिक विकासमा पुर्याएको महत्वपूर्ण योगदानको प्रशंसा गर्दै वडा कार्यालयले विभिन्न शैक्षिक गतिविधिमा जोड दिइरहेको र शिक्षक, अभिभावक, विद्यार्थी तथा जनप्रतिनिधिको सहकार्यबाट विद्यार्थीको उज्ज्वल भविष्य निर्माणमा प्रतिबद्ध रहेको बताउनुभयो।कार्यक्रमको सञ्चालन प्रधानाध्यापक राम पौडेलले गर्नुभएको थियो।












