
पुष २५, काठमाडौं
गिरिराज केसी नेतृत्वको स्वतन्त्र वाम समूह नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएको छ। काठमाडौंमा आज आयोजित एक कार्यक्रममा उक्त समूह औपचारिक रूपमा पार्टीमा समाहित भएको हो।
काठमाडौंमा आयोजित स्वागत कार्यक्रममा नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल तथा पार्टी नेता नारायणकाजी श्रेष्ठले नवप्रवेशी नेताहरूलाई खादामाला लगाएर स्वागत गर्नुभयो।
पार्टीमा समाहित हुनेहरूमा गिरिराज केसी (एमालेबाट प्रदेशसभा उम्मेदवार), ध्रुव आचार्य, कालुराम चौधरी, दुर्गादत्त शर्मा, दामोदर अधिकारी (घोराही नगरपालिकाका पूर्व मेयर), आर.डी. यादव, पिताम्बर आचार्यलगायत रहनुभएको छ।
स्वतन्त्र वाम समूहमार्फत दाङलगायत विभिन्न जिल्लामा क्रियाशील अन्य नेताहरूलाई काठमाडौंमा तथा बाँकी कार्यकर्ताहरूलाई सम्बन्धित जिल्लामा आयोजना गरिने कार्यक्रममार्फत स्वागत गरिने पार्टीले जनाएको छ।















