‘बागलुङ मिडिया मेला’ चैतमा आयोजना हुँदैबागलुङ, २४ पुस

-


     हिडन खबर    
     पौष २४ गते २०८२ मा प्रकाशित


नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाको आयोजनामा आगामी चैत २० र २१ गते ‘बागलुङ मिडिया मेला’ आयोजना हुने भएको छ । शाखाले आफ्नो रजत वर्षको अवसर पारेर पहिलोपटक जिल्लामा मिडिया मेलाको आयोजना गर्न लागेको हो ।

दुई दिनसम्म सञ्चालन हुने मेलामा पत्रकारिताका बदलिँदा आयाम, अवसर र चुनौतीबारे सत्रगत छलफल (प्यानल डिस्कसन), ‘की–नोट स्पिच’, बागलुङ जन्मथलो भएका पत्रकारहरूको पुनर्मिलन कार्यक्रम, तस्बिर प्रदर्शनी, सञ्चार सामग्री तथा उपकरणको प्रदर्शनी, स्थानीय विकास र पर्यटनसम्बन्धी बहस, ‘लाइभ पेन्टिङ’लगायत कार्यक्रम समावेश गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिए ।

सोही अवसरमा रजत वर्षको उपलक्ष्यमा शाखाबाट प्रकाशन हुने पत्रकारिता सम्बन्धी पुस्तकको विमोचन तथा रजत स्मारकको अनावरण पनि गरिने उनले बताए । मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अग्रजदेखि जिल्लामा क्रियाशील पत्रकारहरू एकै स्थानमा जमघट हुने सचिव रिजालले उल्लेख गरे ।

“वर्ष २०८२ लाई नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले रजत वर्षका रूपमा मनाइरहेको छ,” उनले भने, “शाखा स्थापनाको इतिहासप्रति गौरव गर्दै यस वर्षलाई स्मरणीय बनाउने हाम्रो प्रयास रहनेछ ।”
मेलाको अवसरमा छोटो दूरीका पर्यटकीयस्थलको अवलोकनसहित बागलुङमा प्रचलित सांस्कृतिक झाँकी तथा नृत्यको प्रस्तुति पनि रहने जनाइएको छ ।

शाखाले गत असार २५ गते दुईदिने कार्यक्रमसहित रजत जयन्ती मनाएको थियो । उक्त अवसरमा पत्रकारहरूका लागि ध्यान शिविर, अन्तर–शाखा आमन्त्रित फुटसल प्रतियोगिता, पूर्वअध्यक्ष सम्मान, पुरस्कार समर्पणलगायत विविध रचनात्मक क्रियाकलापमार्फत रजत वर्षको शुभारम्भ गरिएको थियो ।

शाखाले २०८२ साललाई ‘तालिम वर्ष’ का रूपमा समेत घोषणा गरी पत्रकारहरूको सीप र दक्षता अभिवृद्धिमा जोड दिँदै आएको छ । ‘दिगो विकास र वातावरण’ तथा ‘मोबाइल पत्रकारिता’लगायत विषयगत तालिम सम्पन्न भइसकेको शाखाका उपाध्यक्ष एवं तालिम संयोजक सिर्जना पन्तले जानकारी दिइन् । उनका अनुसार जिल्लाका विभिन्न स्थानीय तहहरूसँग सहकार्य गरी थप आधारभूत तथा विषयगत तालिम सञ्चालनको तयारी भइरहेको छ ।

शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’ले मिडिया मेलाको आर्थिक स्रोत व्यवस्थापनदेखि व्यवस्थापकीय तयारीका कार्यहरू अघि बढाइएको जानकारी दिए ।

शाखाका अध्यक्ष राम थापाले मिडिया मेलामा पत्रकारिता क्षेत्रका विज्ञ, अनुसन्धानकर्ता, सम्पादक, सञ्चारसम्बन्धी सरकारी निकायका प्रमुख वा प्रतिनिधि, मिडिया सञ्चालक, व्यवस्थापक, पत्रकार महासङ्घका केन्द्र, प्रदेश तथा जिल्लास्तरका पदाधिकारी र सदस्यलगायत सरोकारवाला सङ्घसंस्थाका व्यक्तित्वहरूको सहभागिता रहने बताए । स्थानीय जनप्रतिनिधि तथा पर्यटन क्षेत्रका विज्ञ र अगुवाहरू पनि बहसमा सहभागी हुने उनले उल्लेख गरे ।

“विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रसँग सहकार्य गरी बागलुङ मिडिया मेलालाई सफल बनाइनेछ,” अध्यक्ष थापाले भने, “यो कार्यक्रम पत्रकारहरूसँग मात्र सीमित नभई समग्र जिल्लाको पहिचान र गौरवसँग जोडिएको विषय हो । मेलामा स्थानीय विकास र पर्यटनका मुद्दामा समेत बहस तथा अन्तरक्रिया हुने भएकाले जिल्लाभित्र रहेका अवसर र सम्भावनाहरू पहिचान गर्न सहयोग पुग्नेछ ।