
काठमाडौं, भदौ २८ – वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सांस्कृतिक सम्पदाको जगेर्ना गर्ने उद्देश्यले काठमाडौंमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गतका लायन्स क्लबहरूले सञ्चालन गर्दै आएको वातावरण संरक्षण अभियानलाई निरन्तरता दिँदै ‘भविष्यसहित सांस्कृतिक परम्परा’ भन्ने मूल नारासहित वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो।

लायन्स वर्ष २०२३/२४ देखि सुरु भएको पहल, निरन्तर प्रयास तथा विभिन्न पक्षसँगको छलफलपछि प्रकृति संरक्षण र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकसाथ अघि बढाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ।

लायन्स क्लब अफ काठमाडौं कोर सिटी र ‘सेभ द कल्चर एन्ड ट्राडिसन’को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा श्री लिङ्गुंगा गुठी सामुदायिक उपभोक्ता समूह, श्री शार्दूल जंग गुल्म (गुरुजुको पल्टन), श्री इन्द्रजात्रा व्यवस्थापन समिति, अनुप नेपाल तथा सुदन मानन्धरलगायतले सहकार्य गरेका थिए।२५० वटा विभिन्न जातका बिरुवा वृक्षारोपण गरिएको थियोे ।

कार्यक्रममा रोपिएका बिरुवाले भविष्यमा स्वच्छ वातावरण, हरियाली र वातावरणीय सन्तुलन कायम गर्न योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो। साथै प्रकृति संरक्षणसँगै नेपाली मौलिक संस्कृति, परम्परा र सम्पदाको संरक्षणमा सबै पक्षको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिइएको थियो।

अभियानलाई सफल बनाउन सहयोग, सहकार्य र सहभागिता जनाउने सबै व्यक्ति तथा संस्थाप्रति आयोजकले आभार व्यक्त गरेका छन्।













