
चितवन, १९ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले देशभर कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।
नेपाल पत्रकार महासंघ चितवन शाखाको आज निरीक्षणपछि बोल्दै मन्त्री खरेलले सरकारले हाल सरकारी सञ्चार माध्यममा कार्यरत पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्ने कामको थालनी गरिसकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “देशभर कार्यरत सबै पत्रकारलाई सामाजिक सुरक्षा कोषमा जोड्नु अत्यन्त जरुरी छ।”
पत्रकारका कार्यालयमा प्रवेश गर्दा आफ्नै घरमा प्रवेश गरेको अनुभूति हुने बताउँदै उहाँले नेपाल पत्रकार महासंघ चितवन शाखा अन्य शाखाको तुलनामा उत्कृष्ट रहेको भन्दै प्रशंसा गर्नुभयो । पत्रकारका समस्या समाधानका लागि वर्तमान सरकारले केही आधारशिला तयार गर्ने उहाँको भनाइ थियो ।
मन्त्री खरेलले भन्नुभयो, “लोककल्याणकारी विज्ञापन सही तरिकाले सबै सञ्चार माध्यममा पु¥याउनु जरुरी छ।”
निरीक्षणका क्रममा नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष बसन्त पराजुलीले जिल्लाको पत्रकारिताको अवस्था र चुनौतीबारे मन्त्री खरेललाई जानकारी गराउनुभएको थियो ।
यसैबीच, मन्त्री खरेलले समाचार सङ्कलनका क्रममा दुर्घटनामा परेका नेपाल टेलिभिजन चितवनका समाचारदाता अनिल ढकाललाई भेट गर्नुभएको छ ।















