जनता सहयोगी संस्था लिमिटेड पोखरामा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन

-


     हिडन खबर    
     पौष १८ गते २०८२ मा प्रकाशित


लेखनाथ, १८ पुस

पोखरा महानगरपालिका वडा नं. ३१ पावरहाउसमा रहेको जनता बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २९औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ५६ युनिट रगत संकलन गरिएको छ ।

हरेक वर्ष स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजना हुँदै आएको रक्तदान कार्यक्रम यस वर्ष पनि निरन्तरता दिइएको हो । कार्यक्रमको उद्घाटन गण्डकी विश्वविद्यालयका कुलपति प्रा. डा. इन्द्रप्रसाद तिवारीले सहकारीका उपाध्यक्ष सनबहादुर गुरुङलाई ब्लड ब्याग हस्तान्तरण गर्दै पहिलो रक्तदाताको रूपमा गरेका थिए ।

सहकारीका अध्यक्ष भरत ओझाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि तिवारीले रक्तदान जीवनदान भएको उल्लेख गर्दै कास्की जिल्लामा रगतको अभाव हुन नदिन सहकारीले नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गर्नु सराहनीय रहेको बताए । उनले साविक लेखनाथ क्षेत्रमा २०३१ सालमा लामासुहारा बाट सुरु भएको रक्तदान अभियान आज विशाल रूप लिएको उल्लेख गर्दै यस्ता सामाजिक कार्यक्रम दीर्घकालसम्म प्रेरणादायी रहने धारणा व्यक्त गरे ।

संस्थाका संस्थापक अध्यक्ष विश्वमोहन पौडेलले सहकारी स्थापना भएदेखि नै रक्तदान कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिँदै निःस्वार्थ रूपमा रक्तदान गर्न सबै सदस्यलाई आग्रह गरे ।

कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार तथा पूर्व अध्यक्ष शोभामोहन पौडेल, कुलबहादुर रानाभाट, निवर्तमान अध्यक्ष विश्वराज लामिछाने, रक्त सञ्चार केन्द्र पोखराका प्रमुख अर्जुन चौधरी, कोषाध्यक्ष दयाराम भण्डारी, सदस्य पद्मराज पौडेल लगायतले सहकारीका सामाजिक तथा प्रगतिमूलक कार्यबारे धारणा राखेका थिए । कार्यक्रमको धन्यवाद ज्ञापन उपाध्यक्ष सनबहादुर गुरुङले गरेका थिए ।
नेपाल रेडक्रस सोसाइटी पोखरा–कास्कीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

सोही अवसरमा दुईदिवसीय कार्यक्रमअन्तर्गत वडा प्रहरी कार्यालय पोखरा–३१ लाई कार्यालय प्रयोजनका लागि एक थान दराज, शान्ति टोल विकास संस्था पोखरा–३१ खुदीलाई सरसफाइका लागि डस्टबिन तथा साझा सांस्कृतिक समूह पोखरा–३२ र ज्येष्ठ नागरिक दिवा सेवा साझा बजारलाई नगद रु. ११,१११ समूहका अध्यक्ष शिवराज ढुंगानालाई हस्तान्तरण गरिएको थियो ।

त्यसैगरी कविशिरोमणि लेखनाथ पौडेलको १२२औँ जन्मजयन्तीको अवसरमा लेखनाथ पत्रकार मञ्चद्वारा प्रदान गरिने पुरस्कारबाट आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता पत्रकार कविराज घनाललाई सम्मानसमेत गरिएको थियो ।