
पोखरा, पुष १२
पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित ब्यान्डहरू नेपाली र देउराली पनि गुन्जिने भएका छन्। गत वर्ष पोखरामा आयोजित ‘भ्याक ६० नाइन्टी’बाट छुट्टिएर बनेका दुई ब्यान्डहरू नेपाली र देउराली गुन्जिने भएका हुन्।
रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको ‘हिट्स अफ नाइन्टीज’ अन्तर्गत पुष १६ गते बेलुकी न्यू इयर इभ विशेष कार्यक्रममा नेपाली र देउराली ब्यान्डले पनि प्रस्तुति राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिएको छ भन्ने जानकारी संयोजक शेरबहादुर गुरुङले दिनुभयो।
कार्यक्रममा नेपाली ब्यान्डका गायक नवीन गुरुङ र भाइ गुरुङले ‘यो मुटुमा’, ‘पहिलो नजर’, ‘कहाँबाट’, ‘वनमा कस्तुरी’, ‘मुटु चिरी’, ‘पोखरेली नानी’, ‘सपनामा अञ्जुली’, ‘नझपाउन छोडिलगायत’का गीतहरू प्रस्तुत गर्नेछन्।
त्यस्तै, देउराली ब्यान्डले ‘ढुङ्गे साँघुको मेलामा’, ‘लुकीचोरी’, ‘रेशम’, ‘दालभात तरकारी’लगायतका गीतहरू प्रस्तुत गर्ने गुरुङले जानकारी दिनुभयो। सो अवसरमा देउराली ब्यान्डले लोक स्रष्टा स्वर्गीय कल्याण शेरचनको ‘सोह्र वर्षे उमेरमै पनि फस्दै हुँ’ भन्ने गीतसमेत प्रस्तुत गर्ने उनले बताए।
सो दिन अहिलेकै भाइरल डान्सर कार्टुन क्रुका आस्मा विश्वकर्माको विशेष प्रस्तुति रहनेछ। न्यू इयर इभलाई स्पेसल बनाउन उनले अहिलेको भाइरल ‘छिकिरी छिकिरी’ लगायतका गीतहरूमा डान्स प्रस्तुति दिनेछिन्।
न्यू इयर इभ विशेषमा यस वर्ष एक्स नेपालले विशेष प्रस्तुति दिनेछ। नेपाल ब्यान्डका स्थापनाकालीन गायकहरू रविन श्रेष्ठ र गौतम गुरुङले लाइभ ब्यान्ड प्रस्तुति दिने जानकारी दिइएको छ।
जहाँ रविन श्रेष्ठले ‘छेक्यो छेक्यो देउराली डाँडा हुस्सु’, ‘कुखुरोले’, ‘आँगनै भरि’, ‘नक्कली कान्छी’ लगायतका गीतहरू प्रस्तुत गर्नेछन्। त्यस्तै, गौतम गुरुङले ‘जोमसोमै बजार’, ‘गण्डकीको तिरैमा’, ‘झरीले रुझेको आकाश’, ‘यालिङ कहाँ खस्यो’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्नेछन्।
त्यस्तै, भाइरल गायक उज्जन शाक्यले पनि लाइभ प्रस्तुति दिनेछन् भने सो अवसरमा पोखरेली चर्चित ब्यान्ड डिमर्चाको पनि विशेष प्रस्तुति रहने उनले बताए।
पुष १५ गते दिउँसो तमु–गुरुङ समुदायको ल्होसार कार्यक्रम हुनेछ भने त्यसपछि अपराह्न ४ बजेदेखि अहिलेसम्मका चर्चित ब्यान्डहरू स्वप्न सुमन र केहर एण्ड द लुङ्गा गुन्जिनेछन्।
लाइभ ब्यान्ड प्रस्तुति हुने सो कार्यक्रममा अहिलेसम्मका लोकप्रिय कलाकार स्वप्न सुमनले ‘जे छौं तिमी’, ‘कसरी भनूँ तिमीलाई’, ‘बाचा भयो’, ‘म त तिम्रै’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्नेछन्। सो दिन रक ब्यान्ड पनि ब्लास्ट हुनेछ।
सो दिन दिउँसो भने प्रीति आले, देउराली ब्यान्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलेन्द्र पौडेललगायतको प्रस्तुति रहने आयोजकले बताए।
त्यस्तै, केहर एण्ड द लुङ्गाले पनि लाइभ ब्यान्ड प्रस्तुति मार्फत ‘सररर’, ‘तिमीलाई सम्झेर’, ‘बैगुनी’, ‘तिमी बिना’ लगायतका गीतहरू गुञ्जाउनेछन्। यी दुबै ब्यान्डका गीतहरू अहिले भाइरल छन्, जसले गर्दा पोखरेली दर्शकको रोजाइ बन्ने अपेक्षा गरिएको आयोजक गुरुङले बताए।
त्यस्तै, पुष १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि विजेता तथा उपविजेताहरूको सांगीतिक प्रस्तुति रहने जनाइएको छ।













