
पोखरा, १२ पुस । यस वर्षको शेर विष्णु पत्रकारिता पुरस्कार स्मिता अधिकारी तिवारीलाई प्रदान गरिने भएको छ । लेखनाथ पत्रकार मञ्च कास्कीले सञ्चालन गर्दै आएको यो पुरस्कार यसपटक अन्नपूर्ण पोस्टको अंग्रेजी संस्करण द अन्नपूर्ण एक्सप्रेसकी पोखरा संवाददाता स्मिता अधिकारी तिवारीलाई प्रदान गरिने भएको हो ।
हाल पोखरा ३१ मोहरियामा निवासी तिवारीले वि.सं. २०६३ मा हिमाली एफएमबाट पत्रकारिता सुरु गरेकी थिइन् । त्यसयता उनी पोखराका विभिन्न मिडियामा रही कार्य गरिसकेकी छन् । पुरस्कारको राशि पाँच हजार पाँच सय पचपन्न रहेको छ ।
पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीको मूल समारोह अर्चलेमा प्रदान गरिने कार्यक्रम रहेको छ । अक्षयकोषदाता हाल विदेशमा रहेका हुनाले उनका अनुपस्थितिमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिकृष्ण बास्तोला, पूर्व पुरस्कार प्राप्त व्यक्तित्वहरू मध्येबाट वासुदेव पौडेल र संस्थापककालीन अध्यक्ष भीमकान्त बराल रहेका छनोट समितिले यस वर्ष उनलाई पुरस्कारका लागि छनोट गरेको हो । सो पुरस्कारबाट गत वर्ष पत्रकार दीपक परियार सम्मानित भएका थिए ।









