यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार कविराज खनाललाई

-


     हिडन खबर    
     पौष १२ गते २०८२ मा प्रकाशित


पोखरा, १२ पुस । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष आदर्श समाज राष्ट्रिय दैनिकका संवाददाता तथा सार्वजनिक प्रसारण सेवा रेडियो नेपालका संवाददाता कविराज खनाललाई सम्मान गरिने भएको छ ।

लेखनाथ क्षेत्रमा रही कम्तीमा १० वर्ष समाचार संप्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पुर्‍याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एक जनालाई ११ हजार १ सय ११ रुपैयाँ नगद र सम्मानपत्रबाट सम्मान गर्दै आइएकोमा यस वर्ष खनाललाई उक्त पुरस्कार प्रदान गर्न लागिएको हो ।

मञ्चका अध्यक्ष विष्णुहरि पौडेल, सचिव रामशरण नेपाली, लेखनाथ उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष गोपिकृष्ण बास्तोला, पूर्व पुरस्कार प्राप्त व्यक्तित्वहरू मध्येबाट वासुदेव पौडेल र संस्थापककालीन अध्यक्ष भीमकान्त बराल रहेका छनोट समितिले यस वर्ष उनलाई पुरस्कारका लागि छनोट गरेको हो ।

तनहुँ शुक्लागण्डकी ४ मा जन्मिएर हाल पोखरा ३२ तल्लो गगनगौडामा बस्दै आएका खनालले दुई दशकअघि आदर्श समाज राष्ट्रिय दैनिकबाट आफ्नो पत्रकारिता यात्रा थालनी गरेका थिए । खनालले त्यसयता करिब एक दशक सगरमाथा टेलिभिजनको संवाददाताको रूपमा काम गरिसकेका छन् । उनले कृषि, सामाजिक न्याय, सुशासन, पर्यटन, वातावरण, कला, साहित्य, खेलकुद लगायत विधामा कलम चलाउँदै आएका छन् ।

लेखनाथ पत्रकार मञ्च कास्कीको पूर्व अध्यक्षको रूपमा जिम्मेवारी सम्हालेका उनी २०६९ सालदेखि पत्रकारितामा निरन्तर सक्रिय रही लेखनाथको विकास निर्माण, यहाँका साहित्यिक पर्यटनका विविध पक्षका साथै साततालको सहरको रूपमा लेखनाथ क्षेत्रलाई चिनाउँदै लेखनाथ क्षेत्रका समाचार प्राथमिकताका साथ संप्रेषण गर्दै आएका छन् ।
वि.सं. २०६८ सालदेखि निरन्तर रूपमा ११ हजार १ सय ११ रुपैयाँ राशिको यो पुरस्कार यसअघि मेघराज आचार्य, रामप्रसाद तिमिल्सेना, बसन्तराज अधिकारी, वासुदेव पौडेल, परशुराम शर्मा, भीमकान्त बराल, सरिता तिमिल्सेना, दीपक परियार र अशोकान्त पौडेलले प्राप्त गरिसकेका छन् ।

यस वर्षको लेखनाथ पत्रकारिता पुरस्कार पुस १५ गते कवि शिरोमणि लेखनाथ पौडेलको जन्मजयन्तीको मूल समारोह अर्चलेमा प्रदान गर्ने कार्यक्रम रहेको छ ।