
पोखरा, पुस १२
पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा विश्वप्रसिद्ध डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने भएको छ ।
रेवाङ पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमै हुने पोखरा सडक महोत्सवको न्यू इयर ईभ विशेष कार्यक्रमअन्तर्गत आस्माले प्रस्तुति दिने भएकी हुन् ।
आस्माले प्रस्तुति राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल ट्रेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरू ‘छिकछिक’, ‘छिकछिक’ लगायतका गीतहरूमा डान्स प्रस्तुत गर्नेछिन् ।
पुस १६ गते बेलुकाको न्यू इयर ईभ स्पेसल कार्यक्रममा आस्मासँगै एस. नेपाल, उज्ज्वल शाक्य, डी–मार्क, लेकाली, देउरालीलगायतका ब्याण्डहरूको लाइभ प्रस्तुति रहनेछ । सो दिन न्यू इयर ईभमा एस. नेपाल नेपालमा तीन दशकपछि गुञ्जिनेछ ।
एस. नेपालका गायक रविन श्रेष्ठ र गौतम गुरुङले लाइभ ब्याण्ड प्रस्तुति दिने गुरुङले बताए । जहाँ रविन श्रेष्ठले ‘छेक्यो छेक्यो देउराली डाँडा हुर्हुर’, ‘कुहिरोले’, ‘आँगनै भरी’, ‘नक्कली कान्छी’ लगायतका गीतहरू प्रस्तुत गर्नेछन् । त्यस्तै, गौतम गुरुङले ‘जोमसोमे बजार’, ‘गण्डकीको तीरैमा’, ‘झरीले रुजेको आकाश’, ‘यालिङ कहाँ खस्यो’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्नेछन् ।
त्यस्तै, सो दिन न्यू इयर ईभमा भाइरल गायक उज्ज्वल श्रेष्ठको ब्याण्डले लाइभ प्रस्तुति दिने अल ट्रेक नेपालका सञ्चालक गुरुङले जानकारी दिए । उनले ‘बेबी’, ‘राजमती चा’, ‘लुम्बिनी’, ‘कुमारी’, ‘मतिनाया स्वाहा’, ‘लिक्सलिक्स’ लगायतका गीतहरू गुञ्जाउने बताए ।
पोखरा कोमागाने पार्कमा हुने कार्यक्रमअन्तर्गत पुस १५ गते साँझ चर्चित ब्याण्डहरू स्वप्न सुमन र केहर एण्ड द लुङ्गाले लाइभ ब्याण्ड प्रस्तुति दिनेछन् । सो साँझ स्वप्न सुमनले ‘जे छौ तिमी’, ‘कसरी भनूँ तिमीलाई’, ‘बाचा भयो’, ‘म तिम्रो’ लगायतका चर्चित गीतहरू प्रस्तुत गर्नेछन् ।
त्यस्तै, केहर एण्ड द लुङ्गाले ‘सररर’, ‘तिमीलाई सम्झेर’, ‘बैगुनी’, ‘तिमी बिना’ लगायतका गीतहरू गुञ्जाउनेछन् ।
सो दिन रक ब्याण्ड पनि अनस्टेज हुनेछन् । सो दिन दिउँसो भने प्रीति आले, देउराली ब्याण्डका पुराना गायक आनन्द बज्राचार्य र सन्तोष बस्यालको प्रस्तुति रहनेछ भने दिवा कार्यक्रमतर्फ लोकदोहोरी गायकहरू पुरुषोत्तम न्यौपाने, जीवन दाहाल, चोलिन्द्र पौडेललगायतको प्रस्तुति रहने गुरुङले बताए ।
त्यस्तै, पुस १४ गते अन्तरविद्यालय खुला नृत्य प्रतियोगिता हुनेछ भने दिउँसोदेखि साँझसम्म इन्टर स्कुल ब्याण्ड कम्पिटिसनको उपाधि विजेता तथा उपविजेताहरूको सांगीतिक प्रस्तुति रहने जानकारी दिइएको छ ।












