संगीतसँगै अध्ययनलाई अघि बढाउँदै मोडल अस्मिता राना

-


     केपी कुमार जलन     
     पौष ११ गते २०८२ मा प्रकाशित


कलाकार नाच्न–गाउन मात्र सीमित हुँदैनन्। उनीहरू अभिनय, वाद्यवादन, निर्देशन, लेखनजस्ता विविध कलामा समेत दक्ष हुन्छन्। स्टेजमा प्रस्तुति दिँदा दर्शकलाई पनि सँगै गाउन–नाच्न प्रेरित गर्ने, लोकगीतको माध्यमबाट आर्थिक तथा आत्मसन्तुष्टि प्राप्त गर्ने उनीहरूको विशेषता हुन्छ।

त्यसैले कलाकारलाई केवल नाच्ने–गाउने व्यक्ति मात्र भन्नु उनीहरूको क्षमताको सानो अंश मात्र हो, किनकि कलाकारको दायरा निकै फराकिलो हुन्छ। कलाकारको अर्को महत्वपूर्ण पक्ष शिक्षा पनि हो।

हालै त्रिभुवन विश्वविद्यालयबाट दीक्षित हुने विद्यार्थीहरूमध्ये स्याङ्जाकी मोडल तथा नृत्यांगना अस्मिता राना मगर पनि दीक्षित भएकी छन्। समाजशास्त्र विषयमा स्नातकोत्तर (मास्टर) डिग्री पूरा गरेकी अस्मिताले नृत्यसँगै आफ्नो अध्ययनलाई पनि निरन्तर अघि बढाएकी हुन्।

स्याङ्जा जिल्ला, पुतलीबजार नगरपालिका–८ मा बाबु चित्रबहादुर राना र आमा योमाया थापाको कोखबाट जन्मिएकी अस्मिता एक सयभन्दा बढी गीतका म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन्।

स्वदेश तथा विदेशका मलेसिया, कोरिया, युके, कतार, ओमान, जापानलगायत करिब दश वटा मुलुकमा सांगीतिक कार्यक्रमका लागि पुगिसकेकी अस्मिताले नेपालका विभिन्न जिल्लामा आयोजना हुने मेला–महोत्सवहरूमा समेत आफ्नो प्रस्तुति दिइसकेकी छन्।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समिति तथा नेपाल मगर सांस्कृतिक संघकी सदस्यसमेत रहेकी मोडल अस्मिता रानाले थुप्रै म्युजिक अवार्डहरू पनि हात पारिसकेकी छन्।