
काभ्रेपलाञ्चोक, १० पुस । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले संविधान र लोकतान्त्रिक अभ्यासअनुसार तोकिएकै समयमा निर्वाचन सम्पन्न हुने स्पष्ट पार्नुभएको छ।
आज काभ्रेपलाञ्चोक जिल्लाको पाँचखाल नगरपालिकाको अवलोकनका क्रममा सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री खरेलले निर्वाचनका लागि सरकारले आवश्यक वातावरण बनाइसकेको र राजनीतिक दलहरू पनि त्यसतर्फ केन्द्रित भएको बताउनुभयो।
निर्वाचनका विषयमा कुनै पनि प्रकारको अन्योल नरहेको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थिरता र लोकतन्त्रको सुदृढीकरणका लागि समयमै निर्वाचन अत्यन्त आवश्यक रहेको बताउनुभयो। निर्वाचन प्रक्रियाप्रति सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
सञ्चारमन्त्री खरेलले भन्नुभयो, “निर्वाचनको वातावरण निर्माणका लागि सरकारले मंगलबार र बुधबार नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनमत पार्टीसँग उनीहरूकै कार्यालयमा पुगेर छलफल तथा अन्तरक्रिया गरेको छ। साथै राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकसमेत भएको छ। यसले निर्वाचनको वातावरण सुनिश्चित गरेको छ। दलहरू निर्वाचनका लागि तयार छन् र सरकारले आवश्यक तयारी गरिरहेको छ।”
पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा सहकार्यलाई अझ सुदृढ बनाउँदै विकास र समृद्धिको यात्रामा सक्रिय रूपमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा स्थानीय बासिन्दा, समाजसेवी तथा
बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसैबीच मन्त्री खरेलले धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिने खरेलथोक स्वारामा प्रत्येक वर्ष आयोजना हुने कुलपूजा तथा विभिन्न धार्मिक कार्यक्रमलाई सम्बोधन गर्नुभयो।
सो अवसरमा उहाँले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा सरकारको विशेष ध्यान रहेको बताउँदै स्थानीय समुदायले खेलेको सक्रिय भूमिकाको प्रशंसा गर्नुभयो। यस्ता धार्मिक–सांस्कृतिक गतिविधिले सामाजिक एकता र मौलिक पहिचानको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउने उहाँको भनाइ थियो।













