उत्पादक र उपभोक्ताको संगमस्थल बन्यो लेखनाथ महोत्सव

-


     हिडन खबर    
     पौष १० गते २०८२ मा प्रकाशित


लेखनाथ, १० पुस
कास्कीको लेखनाथमा पुस ३ गतेदेखि जारी २१औँ संस्करणको लेखनाथ महोत्सव किनबेचको केन्द्रबिन्दु बनेको छ।

महोत्सवमा मनोरञ्जनका साथै घरायसी आवश्यकताका स्वदेशीदेखि विदेशी सामग्री सुपथ मूल्यमा उपलब्ध हुने भएकाले महोत्सवस्थल व्यापारिक केन्द्रका रूपमा विकसित भएको हो। दर्शकहरू रमाइलो अवलोकनसँगै आवश्यक सामग्री खरिद गरेर फर्कन थालेपछि व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको आयोजक संस्थाले जनाएको छ।

महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीका अनुसार दर्शकहरूले घर फर्कँदा केही न केही सामग्री अवश्य किन्ने गरेकाले अघिल्ला दिनको तुलनामा व्यापार कारोबार बढेको छ।
महोत्सवमा करिब ३३६ वटा विभिन्न प्रकृतिका स्टलहरू राखिएका छन्। दैनिक उपभोग्य सामग्री सहज रूपमा उपलब्ध भएपछि दर्शकहरू आफूले खोजेको तथा रोजेको सामान सुपथ मूल्यमा पाएको भन्दै सन्तुष्टि व्यक्त गर्दै फर्किरहेका छन्। व्यापार बढ्दै गएको भन्दै व्यापारीहरू पनि खुसी देखिएका छन्।

स्वदेशमै उत्पादित वस्तुको विक्री केन्द्रका रूपमा महोत्सव स्थापित भएकाले उपभोक्ताले प्रत्यक्ष रूपमा उत्पादकसँग सामग्री खरिद गर्न पाएका छन्, जसका कारण सहुलियत मूल्यमा वस्तु बिक्री वितरण भइरहेको छ।
पुस १४ गतेसम्म सञ्चालन हुने महोत्सवको सातौँ दिन अर्थात् बुधबार मात्र करिब ६० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको छ। हालसम्म कुल कारोबार ६ करोड ८० लाख रुपैयाँ पुगेको स्टलस्तरीय सर्वेक्षणले देखाएको छ। साथै बुधबार मात्र १७ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने हालसम्म कुल १ लाख ९० हजार दर्शकले मेला अवलोकन गरिसकेको महोत्सव प्रचार–प्रसार उपसमितिका संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिनुभयो।

मौसम अनुकूल रहेकाले मध्याह्नपछि दर्शकको चाप बढेको देखिएको छ। महोत्सव सकिन अझै केही दिन बाँकी रहेकाले दर्शक संख्या दिनप्रतिदिन बढ्दै गएको आयोजकको भनाइ छ।

यसैबीच, महोत्सवको सातौँ दिन कलाकारहरू रामजी खाँड, कृष्ण सुवेदी, जगत पौडेल, पार्वती जीसी, रिया/रतिमाया खड्का तथा बिन्दा परियारले सांगीतिक प्रस्तुति दिएका थिए। साँझको कन्सर्टमा गायक अर्जुन सापकोटा, सहिमा श्रेष्ठलगायत स्थानीय कलाकारहरूको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो।

गाडीदेखि गार्मेन्टसम्म तथा माछादेखि महसम्म एकै स्थानमा उपलब्ध भएपछि महोत्सवलाई उत्पादक र उपभोक्ताको संगमस्थलका रूपमा लिइएको छ। लेखनाथ उद्योग वाणिज्य संघद्वारा आयोजित यो महोत्सव गण्डकी प्रदेशकै नमुना तथा ऐतिहासिक महोत्सवका रूपमा परिचित हुँदै गएको संघका पूर्वअध्यक्ष छत्रधर आत्रेयले दाबी गर्नुभयो।