
पौष १०, हेमजा
कास्कीको माछापुच्छ्रे गाउँपालिका–५, रिभानमा अवस्थित श्री निष्पक्ष माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम बुधबार सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव गिरीको अध्यक्षता तथा माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीनबहादुर गुरुङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष गुरुङले श्री निष्पक्ष माध्यमिक विद्यालयका पछिल्ला शैक्षिक गतिविधिहरू सुधारोन्मुख रहेको उल्लेख गर्दै गाउँपालिकाको समग्र शिक्षा क्षेत्रको आमूल परिवर्तनका लागि आवश्यकताअनुसार साझा धारणा बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
त्यसैगरी गाउँपालिका उपाध्यक्ष सीता अधिकारीले विद्यालयले पछिल्लो समयमा शैक्षिक गुणस्तरसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट नतिजा हासिल गरेको बताउँदै विद्यालय परिवारप्रति हार्दिक धन्यवाद व्यक्त गर्नुभयो। साथै, पालिकाबाट निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता पनि जनाउनुभयो।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दुर्गा बहादुर रावतले प्रधानाध्यापकको प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयलाई भौतिक, आर्थिक तथा शैक्षिक रूपमा सबल बनाउन विभिन्न क्षेत्रबाट सहयोग पुर्याउने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले शिक्षण–सिकाइमा सूचना प्रविधिको प्रयोग, निरन्तर अतिरिक्त क्रियाकलाप सञ्चालन तथा विद्यार्थीहरूको प्रतिभा प्रस्फुटनमा विद्यालय निरन्तर क्रियाशील रहेको जानकारी दिनुभयो।प्रतिवेदनअनुसार विद्यालय पालिका तथा जिल्ला स्तरमा शैक्षिक र खेलकुद दुवै क्षेत्रमा अब्बल रहँदै आएको उल्लेख गरिएको छ।
समारोहमा सामाजिक विकास समिति संयोजक एवं वडा नं. ९ का अध्यक्ष हरि बहादुर क्षेत्री, वडा नं. ५ का अध्यक्ष तथा वडा शिक्षा समिति संयोजक नारायण प्रसाद पौडेल, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका संरक्षण कार्यालय ल्वाङका कार्यालय प्रमुख लेखनाथ गौतम, माछापुच्छ्रे–६ बराह माध्यमिक विद्यालयका प्रधानाध्यापक सुरेश गुरुङ, सर्वगुण फुड्स एन्ड किचनका सञ्चालक उषा गिरीलगायतले व्यवहारिक शिक्षालाई प्राथमिकता दिँदै शैक्षिक गतिविधिहरू अघि बढाउनुपर्नेमा जोड दिँदै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।
वार्षिकोत्सवको अवसरमा विद्यालयको बृहत्तर विकासमा योगदान पुर्याउने शिक्षक–कर्मचारी, अभिभावक, पूर्वविद्यार्थी, अक्षयकोषदाता, जग्गादातालगायतलाई सम्मान गरिएको थियो। साथै विभिन्न अक्षयकोषबाट सम्बन्धित विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण, एसईईमा सर्वोत्कृष्ट पुरस्कार, दीर्घ सेवा सम्मान तथा शैक्षिक र अतिरिक्त क्रियाकलाप अन्तर्गतका पुरस्कार प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधि, अभिभावक, शिक्षक, विद्यार्थी, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक सङ्घका पदाधिकारी, पूर्वविद्यार्थी, अक्षयकोषदाता, जग्गादातालगायत स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
विद्यार्थी झरना दाहालले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा सहायक प्रधानाध्यापक सोमनाथ लामिछानेले सञ्चालन गर्नुभएको थियो।













