
लेखनाथ, ८ पुस — कास्कीको लेखनाथमा जारी २१औँ लेखनाथ महोत्सवमा उद्योग, कृषि र संस्कृतिको प्रवर्द्धनलाई केन्द्रमा राख्दै उद्योग बहस कार्यक्रम सम्पन्न भएको छ। महोत्सवअन्तर्गत पहिलो पटक स्टेज कार्यक्रममार्फत उद्योगी, नीति निर्माता र उपभोक्ताबीच प्रत्यक्ष संवाद गरिएको हो।
महोत्सवको छैटौँ दिन मंगलबार आयोजित उद्योग बहस कार्यक्रममा विभिन्न उद्योगी तथा व्यवसायीले आफ्ना व्यवसायिक अनुभव, संघर्ष र सफलताका कथा साझा गरे। कार्यक्रममा सहभागी वक्ताहरूले स्वदेशी उत्पादनको प्रवर्द्धन, ब्रान्डिङ र बजारीकरणमा जोड दिए।
कार्यक्रममा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उद्योग महाशाखा प्रमुख महराज शाक्यले उद्योग प्रवर्द्धनका लागि अनुदानको सीमा बढाउनुपर्ने आवश्यकता औँल्याए। उनले डीपीआरमै ठूलो खर्च हुने भएकाले धेरै योजना अलपत्र पर्ने अवस्था आएको भन्दै अनुदान प्रणाली सुधार गर्नुपर्ने बताए।
आयोजकका अनुसार स्थानीय बजारलाई चलायमान बनाउने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता देखिएको छ। छैटौँ दिन मात्रै करिब २५ हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् भने दैनिक करिब १ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार भइरहेको छ।
स्थानीय उत्पादन, उद्योग र संस्कृतिको प्रवर्द्धनमा लेखनाथ महोत्सवले महत्वपूर्ण भूमिका खेलेको सरोकारवालाहरूले बताएका छन्।













