नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी काम गरिरहेका छौँ – सञ्चारमन्त्री खरेल

-


     हिडन खबर    
     पौष ५ गते २०८२ मा प्रकाशित


ललितपुर, ५ पुस । नेपाल सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाललाई डिजिटल मार्गमा अगाडि बढाउने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ ।

द स्टार्टअप नेटवर्क नेपाल र इन्डिया नेपाल सेन्टरको संयुक्त आयोजनामा शनिबार ललितपुरमा आयोजित ‘स्टार्टअप समिट–२०२५’ लाई सम्बोधन गर्दै मन्त्री खरेलले सरकार गठन भएको तीन महिनाभित्रै एआई नीति पारित गरिएको जानकारी दिनुभयो । उहाँले डिजिटल नेपाल निर्माणका लागि आवश्यक नीतिगत व्यवस्थाको तयारी भइरहेको समेत बताउनुभयो ।

सञ्चारमन्त्री खरेलले भन्नुभयो, “सूचना प्रविधिको विकास र डिजिटल नेपाल निर्माणका लागि युवा पुस्तासँगै अगाडि बढ्न आवश्यक छ । नवप्रवर्तन, स्टार्टअप, उद्यमशीलता र सूचना प्रविधिको क्षेत्रमा सरकारसँग मिलेर कसरी काम गर्न चाहनुहुन्छ, प्रस्ताव लिएर आउनुहोस् । सहकार्यमा काम गर्दै अवसर सिर्जना गर्न हामी तत्पर छौँ । म पनि युवा मन्त्री हुँ, आगामी तीन महिनाभित्र तपाईंहरूको अपेक्षाअनुसार काम गर्ने प्रयास गर्नेछु ।”

मन्त्री खरेलले सूचना प्रविधि, एआई र डिजिटल प्रणालीको विकासमा सरकारले विशेष ध्यान दिइरहेको उल्लेख गर्दै युवाहरूका आवश्यकतालाई नीतिगत रूपमा समेटिने विश्वास व्यक्त गर्नुभयो । “राज्यले जेन–जी आन्दोलनलाई जनआन्दोलनका रूपमा स्वीकार गरेको छ । नेपालमा जेन–जी पुस्ताको राजनीतिक चेतना धेरै विकसित भइसकेको छ, त्यसैले हामी परिवर्तन गर्न सक्छौँ,” उहाँले भन्नुभयो ।

मन्त्री खरेलले फागुन २१ गते हुने निर्वाचनमा सूचना प्रविधिको प्रयोगमार्फत मतदानको व्यवस्था गर्न सके उपयुक्त हुने भए पनि सबै राजनीतिक दलहरूबीच सहमति हुन नसक्दा त्यो सम्भव नभएको बताउनुभयो । उहाँले फागुन २१ को निर्वाचन सही नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै राम्रो नेता चयन गरेर पठाउन आग्रह गर्नुभयो ।

“अब युवा नेतृत्व आउनुपर्छ । युवाले काम गर्ने समय आएको छ । राजनीति परिवर्तनका लागि समय नजिकिँदै छ, हामी आशावादी हुनैपर्छ,” उहाँले भन्नुभयो ।
नेपालका लागि भारतीय पूर्वराजदूत तथा इन्डिया नेपाल सेन्टरका अध्यक्ष मञ्जीव सिंह पुरीले प्रविधिले संसारलाई परिवर्तन गरिरहेको उल्लेख गर्दै बदलिँदो समयअनुसार काम गर्न युवा दिमागको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो ।
त्यसैगरी, नेपाल उद्योग परिसंघका अध्यक्ष विरेन्द्रराज पाण्डेले स्टार्टअप मात्र नभई साना व्यवसायहरू पनि भविष्यका लागि बलियो आर्थिक आधार बन्दै गइरहेको बताउनुभयो ।