
कास्की लेखनाथ, ५ पुस
नेपाली समाजमा विवाहका अवसरमा बेहुलाको घरमा गाइने परम्परागत रत्यौली गीत लोप हुँदै जान थालेपछि त्यसको जगेर्ना गर्ने उद्देश्यले लेखनाथ महोत्सवमा हरेक वर्ष रत्यौली प्रतियोगिता आयोजना गरिँदै आएको छ। नयाँ पुस्तालाई यसबारे जानकारी दिन तथा लोकसंस्कृतिको संरक्षण गर्न प्रतियोगिता प्रभावकारी बन्दै गएको आयोजकहरूको भनाइ छ।
दुलाहाका घरमा विवाहका अवसरमा बालिने शुभसूचक बत्ती कुर्न जम्मा भएका महिलाहरूले सामूहिक रूपमा गाउने गीतलाई रत्यौली भनिन्छ। जन्ती हिँड्नुअघि दुलाहाका घरमा गरिने कर्मकाण्डदेखि जन्ती प्रस्थान, दुलहीको घरमा हुने क्रियाकलाप र पुनः दुलाहाका घर भित्रिँदासम्मका घटनाक्रमलाई समेटेर रत्यौली गीत गाइने गरिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले बताए।
रत्यौली गीतमा अश्लीलता हुने आरोप लाग्ने गरे पनि पछिल्ला दिनमा समाजले पचाउन सक्ने शब्द र भाव समेटिएका रत्यौली गीत प्रस्तुत हुन थालेकाले यस्ता प्रतियोगिताले यसको संरक्षणमा टेवा पुग्ने पराजुलीको भनाइ छ।
मेला–महोत्सवमा यस किसिमका प्रतियोगिता आयोजना गर्दा नयाँ पुस्तालाई रत्यौलीको ज्ञान दिनुका साथै यसको संरक्षणमा सहयोग पुग्ने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कास्कीका पूर्व अध्यक्ष शिवहरि ढुंगानाले बताए। रत्यौली गायन तथा प्रस्तुतिमा महिलाको मात्र सहभागिता रहने र एक समूहले बसेर ताली बजाउँदै रत्यौली गाउने परम्परा रहेको उनले जानकारी दिए।
उनका अनुसार रत्यौली गीतलाई नृत्य र अभिनयले अझ रोचक बनाइन्छ। गीत गाउँदा एक महिलाले नर्तकीको भूमिका निर्वाह गर्छिन् भने अर्की महिलाले पुरुषको भेष धारण गरी नृत्य र अभिनय प्रस्तुत गर्छिन्। पुरुषको भेषमा नाच्ने र अभिनय गर्ने व्यक्तिलाई ‘लुठो’ भन्ने चलन रहेको छ।
रत्यौली गीत आफैँमा रोचक हुने र नर्तकहरूको नृत्य तथा अभिनयले प्रस्तुतिस्थललाई थप रमाइलो बनाउने महिला विशेष कार्यक्रमकी संयोजक प्रतिक्षा रानाभाटले बताइन्। महोत्सवको स्टेजमा नौमती बाजासहितको प्रतियोगिताले मेला–महोत्सवलाई मात्र नभई सम्पूर्ण लोकसंस्कृतिको संरक्षण र नयाँ पुस्तामा रत्यौलीको महत्त्व बुझाउन सहयोग पुर्याउने उनले भनिन्।
पुस महिनामा विवाहको लगन नभए पनि लेखनाथ महोत्सवले पञ्चेबाजासहित बेहुला–बेहुलीको प्रतीकात्मक प्रस्तुति गर्दै विवाहकै झल्को दिने गरी रत्यौली गीतलाई विशेष स्थान दिएको थियो।
महोत्सवको थप आकर्षणका रूपमा रहेको रत्यौली प्रतियोगितामा २० वटा समूह पहिलो चरणबाट छनोट भएका छन्। तीमध्ये शुक्रबार नमुना कृषक आमा समूह पोखरा–२६, भरतपोखरी विश्वकर्मा समाज महिला समूह पोखरा–३३ र सरस्वती सामुदायिक महिला समूह पोखरा–३३ ले रत्यौली प्रस्तुत गरेका थिए। शनिबार गायत्री आमा समूह पोखरा–३२ ले प्रस्तुति दिनेछ।
यस्तै, महोत्सवअन्तर्गतको विद्यालयस्तरीय कार्यक्रममा शुक्रबार सरस्वती टीका मावि, ओएसिस सेकेन्डरी स्कुल, ज्ञानकुञ्ज विद्याश्रम, सिर्जना बहिरा मावि र अमरसिद्ध नमुना माविको प्रस्तुति रहेको थियो। शनिबार चार वटा विद्यालयको प्रस्तुति रहने विद्यालयस्तरीय कार्यक्रम व्यवस्थापन समितिका सदस्य अर्जुनप्रसाद आचार्यले जानकारी दिए।
‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ पुस ३ गतेदेखि सुरु भएको २१औँ संस्करणको लेखनाथ महोत्सवको दोस्रो दिन ११ हजार दर्शकले अवलोकन गरेका छन् भने करिब ४० लाख रुपैयाँ बराबरको कारोबार भएको महोत्सवका प्रचार–प्रसार संयोजक ध्रुवबाबु भट्टराईले जानकारी दिए।
शुक्रबार लोकदोहोरी कलाकार धनश्याम रिजाल, कुमार पुन, कृष्णा गुरुङ, शिवहरि ढुंगाना, मञ्जु विक, केशव देवकोटा, गगन गुरुङ र अमृता हमाललगायतले प्रस्तुति दिएका थिए भने साँझ स्थानीय ब्याण्डहरूको लाइभ कन्सर्ट आयोजना गरिएको थियो।
शनिबार लोकदोहोरी कलाकार खुमन अधिकारी, मीरा पोख्रेल, शान्ता बर्देवा, मधु थापा मगर, गगन गुरुङ र शिवहरि ढुंगानाले प्रस्तुति दिनेछन्। हास्यव्यङ्ग्यतर्फ राजेन्द्र गिरी (गुन्द्रुके) तथा साँझ सुगम सङ्गीततर्फ रचना रिमाल र डेभिड शंकरले प्रस्तुति दिने कलाकार संयोजक भरतकुमार अधिकारीले जानकारी दिए।












