
काठमाडौँ ।पुस ४
जेन्जी विद्रोहको १००औँ दिन पूरा भएको अवसरमा जेन्जी मुभमेन्ट नेपालले विद्रोहका मूल मुद्दा संविधानमा संस्थागत नभएसम्म शान्तिपूर्ण, संगठित र दृढ संघर्ष जारी रहने स्पष्ट पारेको छ ।
जेन्जीका अगुवा रवि किरण हमालले जारी गरेको प्रेस वक्तव्यमा नवोदित पुस्ताले राष्ट्र र जनताका लागि गरेको त्याग, साहस र बलिदानलाई नेपालको राजनीतिक इतिहासको गर्विलो अध्यायका रूपमा उल्लेख गरिएको छ । विद्रोहका क्रममा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना तथा सहिद परिवारप्रति समवेदना व्यक्त गरिएको छ ।
वक्तव्यमा जेन्जी विद्रोह कुनै क्षणिक असन्तोष नभई राज्य संरचनाभित्र गहिरोसँग जरा गाडेर बसेका असमानता, कुशासन, राजनीतिक अस्थिरता र लुटतन्त्रविरुद्धको ऐतिहासिक जनसंघर्ष भएको उल्लेख गरिएको छ । विद्रोहका क्रममा उठाइएका प्रमुख मागहरू— प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था, सार्वजनिक संस्थाहरूको आमूल पुनर्संरचना तथा विगत तीन दशकदेखि देश लुट्नेहरूलाई कानुनी कठघरामा उभ्याउँदै लुटिएको राष्ट्रिय सम्पत्तिको राष्ट्रियकरण— संविधानमा संस्थागत नगरेसम्म देश सही दिशामा अघि बढ्न नसक्ने निष्कर्ष निकालिएको छ ।
वक्तव्यमा सुशीला कार्कीको गिरोहले जनजी विद्रोहलाई अपहरण गर्दै जनताको बलिदानमाथि टेकेर सत्ता कब्जा गर्ने दुस्साहस गरेको आरोप लगाइएको छ । यसले विद्रोहको मूल भावना र जनआकांक्षामाथि गम्भीर धोका दिएको दाबी गरिएको छ ।
त्यसैगरी, फागुन २१ मा प्रस्तावित निर्वाचन वा संसद् पुनर्स्थापनाले राष्ट्रले भोगिरहेको राजनीतिक तथा संवैधानिक संकट समाधान नहुने उल्लेख गर्दै त्यस दिशातर्फ नजान चेतावनीसमेत दिइएको छ । वक्तव्यमा सर्वपक्षीय सरकार गठन गर्दै संविधान पुनर्लेखन गर्नु आजको अपरिहार्य आवश्यकता भएको भनिएको छ ।
अन्त्यमा, जेन्जी मुभमेन्ट नेपालले सम्पूर्ण देशवासीलाई निराश नबनी आशावादी बन्न, विभाजन होइन एकताबद्ध हुन तथा जेन्जी जनजी विद्रोहका मुद्दा संविधानमा संस्थागत नहुन्जेलसम्म संघर्षमा साथ दिन अपिल गरेको छ ।












