सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनर्निर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

-


     हिडन खबर    
     मंसिर २२ गते २०८२ मा प्रकाशित


काठमाडौँ, २१ मङ्सिर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘जेनजी आन्दोलन’ का क्रममा क्षतिग्रस्त भएका सिंहदरबार परिसरका संरचनाहरू चाँडै पुनर्निर्माण हुने विश्वास व्यक्त गर्नुभएको छ।

गत भदौ २४ गतेको आन्दोलनका कारण क्षति पुगेका विभिन्न संरचनाको अवलोकन पछि पूर्वराष्ट्रपतिले संरचना ध्वस्त भएको देखेर दुःख लागेको बताउनुभएको थियो। उहाँले नेपाल सरकारले ती संरचनाहरू चाँडै पुनः निर्माण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो।

पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्ता घटना नदोहोरिउन् भन्ने कामना पनि गर्नुभयो। उहाँले साविकको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत आन्दोलनबाट क्षतिग्रस्त भएका अन्य कार्यालयहरूको पनि अवलोकन गर्नुभएको थियो।

त्यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पूर्वराष्ट्रपतिलाई स्वागत गर्दै विभिन्न कार्यालयहरूको अवलोकन गराउनुभएको थियो। अवलोकनपछि पूर्वराष्ट्रपतिले प्रधानमन्त्री सुशीला कार्कीलाई समेत भेट गर्नुभएको थियो।

उहाँले जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारको विस्तृत अवलोकन गर्नुका साथै रेक्ट्रोफिटिङ कार्य भइरहेको सिंहदरबार ग्यालरी बैठक भवनको पनि निरीक्षण गर्नुभयो।
पूर्वराष्ट्रपति भण्डारीसँगै सञ्चारमन्त्री खरेल, प्रधानमन्त्री कार्यालयका सचिव, गृहमन्त्रालयका सचिवलगायत अधिकारीहरू पनि सहभागी हुनुहुन्थ्यो।