
मालिका सेवा समाज बागलुङको ८औँ वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ।
सो अवसरमा बोल्दै गण्डकी प्रदेशसभाका पूर्वसदस्य इन्द्रलाल सापकोटाले संस्थाले निस्वार्थ भावले समाजसेवामा महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभयो।
संस्था राम्रो भएर सबैको चासो र माया प्राप्त गर्ने भएकाले यस्ता संस्थालाई सबैको साझा प्रयास र दलगत स्वार्थभन्दा माथि उठेर अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।

सापकोटाले संस्थाको फैलावट, प्रतिष्ठा र पहिचान अझ फराकिलो भएको बताउँदै दुःखी र पीडितहरूको सेवामा संस्थाले प्रभावकारी भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो। शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा संस्थाले पुर्याएको योगदानका कारण संस्थाको सम्मान र विश्वास बढेको पनि बताउनुभयो।

कार्यक्रममा बागलुङ नगरपालिका–५ का वडाध्यक्ष हरि प्रसाद शर्मा, मालिका सेवा समाजका संस्थापक अध्यक्ष दुर्गा बहादुर कुँवर, संस्थाका सह–संरक्षक सीता सापकोटा, गैरसरकारी संस्था महासंघ नेपाल बागलुङका अध्यक्ष मुक्तिराम सापकोटा, नेपाल रेडक्रस सोसाइटी बागलुङका उपसभापति राजेन्द्र आचार्य, वडा सदस्य बलराम सापकोटा, संस्थाका कानुनी सल्लाहकार गंगाधर सापकोटासहित विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

सो अवसरमा संस्थाका लागि निशुल्क कार्यालय संचालन गर्ने काेठा दिएर सहयोग गर्ने बलराम सापकोटा, संस्थागत विकासमा सहकार्य गर्ने हिमालयन लाइफ इन्स्योरेन्सका उपप्रदेश प्रमुख बलराम गौतम, तथा संस्थाको प्रचार–प्रसारमा योगदान पुर्याएको भन्दै पत्रकार राजेशचन्द्र राजभण्डारी, सुवास आचार्य र कोसेली प्रकाशनलाई सम्मान गरिएको थियो।
कार्यक्रममा सचिव खडानन्द सापकोटाले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष प्रकाश केसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफल गरी पारित गरिएको थियो।२०७३ सालमा स्थापना भएको संस्थामा हाल आजिबन सदस्य १५०बिशिस्ट सदस्य ६९ गरी कुल २१९ सदस्य रहेका छन्।
स्थापना कालदेखि नै समाजसेवा र परोपकारी कार्यलाई आफ्नो मूल लक्ष्य बनाएको संस्थाले ‘पढाउँ अभियान’, विरामी, दुर्घटनाग्रस्त तथा आपत–विपद्मा परेकालाई सहयोग, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सरोकारवालासँग सहकार्य, ज्येष्ठ नागरिक सम्मान, स्वरोजगार सिर्जनाका लागि २४ परिवारलाई एक वर्षभित्र फिर्ता गर्ने सर्तमा मौरीपालन कार्यक्रम, अपाङ्ग सहयोग, धर्म–संस्कृति संरक्षण तथा प्रचार–प्रसार, क्यालेन्डर प्रकाशन तथा घर–घरमा वितरण, खेलकुद, खाद्य सामग्री वितरणजस्ता कार्यक्रम निरन्तर अघि बढाइरहेको संस्थाले जनाएको छ।
कार्यक्रम मालिका सेवा समाजका अध्यक्ष जीवननाथ शर्मा रेग्मीको अध्यक्षता, उपाध्यक्ष तेजबहादुर कुँवरको स्वागत मन्तव्य तथा सचिव खडानन्द सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो।
तेस्रो अधिवेशनले जीवननाथ शर्मा रेग्मीलाई पुनः अध्यक्ष चयन गरेको छ। नयाँ कार्यसमितिमा उपाध्यक्षमा तेजबहादुर कुँवर र आनन्द प्रसाद रेग्मी, सचिवमा खडानन्द सापकोटा, कोषाध्यक्षमा प्रकाश केसी तथा सहसचिवमा मातृका प्रसाद आचार्य चयन भएका छन्।
समितिका सदस्यमा देवुकला सापकोटा, पार्वती खड्का, गोविन्द प्रसाद सापकोटा, यामबहादुर कुँवर र शालिकराम उपाध्याय चयन भएका छन्।










