चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

-


     हिडन खबर    
     मंसिर २१ गते २०८२ मा प्रकाशित


काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ । माघ १ गतेबाट प्रदर्शनमा आउने उक्त चलचित्रको टिजर सार्वजनिक भएको हो।

टिजरमा सिनेमाका मुख्य कलाकारहरूको उपस्थिति देख्न सकिन्छ। टिजरले पिता–छोरीबीचको भावनात्मक सम्बन्धलाई केन्द्रमा राखेको छ। आमाको अनुपस्थितिमा बुवासँग बस्दै आएकी छोरी तथा उनीहरू बीचको भावनात्मक दूरी र नजिकतालाई टिजरले प्रभावकारी रूपमा प्रस्तुत गरेको छ।

बुवाको भूमिकामा दयाहाङ राई छन्, जसले छोरी (शाइसा गौचन)को लालनपालन र शिक्षाको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन्। जीवनयापनका लागि उनी स्कुलमा काम गर्छन्। छोरीले थाहा–नथाहै आमाको अभाव महसुस गरिरहेकी छिन्, र यसको पीडा दयाहाङले पनि महसुस गरिरहेका छन्।

सिर्जना निङलेखु स्कुलकी शिक्षिका रूपमा देखिएकी छन्। टिजरले उनी त्रिकोणात्मक प्रेमको एक कोण हुन सक्ने संकेत गरेको छ। संवाद र दृश्यहरूले सिर्जना निङलेखु दयाहाङ राई तथा प्रकाश सपूतसँग प्रेम सम्बन्धमा रहेको हो कि भन्ने जिज्ञासा जगाएका छन्। टिजरको अधिकांश भागमा दयाहाङ राईको उपस्थिति मजबुत रूपमा देखिन्छ।

मिरमिरे’ले आमाको अभावमा बुबाले हुर्काएको सन्तान तथा बुवाको भावनात्मक यात्रालाई मुख्य कथावस्तु बनाएको टिजरले स्पष्ट पार्छ। पारिवारिक कथा र संवेदनशील विषयवस्तुले दर्शकलाई आकृष्ट गर्न सक्ने संकेत टिजरले दिएको छ।

यार्सा फिल्म्सको प्रस्तुतिमा बनेको यस चलचित्रमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेलको अभिनय रहेको छ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेका ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा र सुदिप कुँवर छन्। चलचित्रका कार्यकारी निर्माता आरआर फिल्म्सका सञ्चालक तथा वितरक रोहित कट्टेल हुन्।

वीरेन्द्र शाही लाइन प्रोड्युसर रहेका यस चलचित्रमा सुदिप कुँवर मुख्य सहायक निर्देशक, सञ्जु थलाङ लिम्बु मेकअप आर्टिस्ट र दिलीप पन्त निर्माण नियन्त्रकका रूपमा कार्यरत छन्।

चलचित्र ‘मिरमिरे’को देशव्यापी वितरणको जिम्मेवारी रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले लिएको छ।

Teaser Link: https://www.youtube.com/watch?v=RyAr0H1tNU4