मानवसेवा आश्रमको कर्णाली प्रदेशस्तरीय भवन सुर्खेतमा निर्माण हुँदै

-


     हिडन खबर    
     मंसिर २० गते २०८२ मा प्रकाशित


सुर्खेत । सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको मानवोचित व्यवस्थापन गर्ने उद्देश्यका साथ मानवसेवा आश्रमले कर्णाली प्रदेशस्तरीय ‘लक्ष्मीनारायण आवास’ भवन निर्माण कार्य सुर्खेतमा औपचारिक रूपमा सुरु गरेको छ।

आश्रमले गत वर्ष मंसिर २१ देखि २८ गतेसम्म सुर्खेत खुलामञ्चमा भवन–निर्माण सहयोगार्थ आयोजना गरेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञबाट संकलित रकम यस भवन निर्माणमा खर्च गर्ने निर्णय गरेको हो।

२०७५ साल माघ १८ गते ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त कर्णाली प्रदेश’ निर्माण गर्ने लक्ष्यसहित आश्रमले सुर्खेतको वीरेन्द्रनगर–१२, नेवारेमा आफ्नो १२औँ शाखा विस्तार गरेको थियो। सोही लक्ष्यअनुरूप २०७६ माघ ४ गते प्रदेश सरकारको सहकार्यमा कर्णाली प्रदेशलाई ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त पहिलो प्रदेश’ घोषणा गरिएको थियो।

सुर्खेत शाखाले हालसम्म कर्णाली प्रदेशका विभिन्न जिल्लाबाट ४८२ जनाको उद्धार गरिसकेको छ। हाल ३६ महिला, ४८ पुरुष, ३ बालक र ४ बालिकासहित ९१ जना आश्रित आश्रमको संरक्षणमा रहेका छन्। अहिले भाडाको घरबाट सेवा संचालन गर्दै आएको शाखाले अब आफ्नै स्थायी भवनबाट सेवा प्रवाह गर्ने लक्ष्यसहित महायज्ञबाट संकलित रकममध्ये केही रकम प्रयोग गरी वीरेन्द्रनगर–११, चारकुनेमा १४ कट्ठा जग्गा खरिद गरी ‘लक्ष्मीनारायण आवास’ निर्माण सुरु गरेको हो।

उक्त निर्माण कार्यअन्तर्गत भवनको भूमिपूजन कार्यक्रम शुक्रबार बिहान १० बजे वीरेन्द्रनगर–११, चारकुनेस्थित निर्माण स्थलमै सम्पन्न भएको छ। प्रदेश सरकारले महायज्ञका क्रममा व्यक्त गरेको प्रतिबद्धताअनुसार १ करोड ५० लाख लागतमा निर्माण हुने ‘नारायण आवासीय भवन’ र वीरेन्द्रनगर नगरपालिकाले निर्माण गर्ने **३ करोड २४ लाख लागत अनुमान गरिएको ‘लक्ष्मी आवासीय भवन’**को पनि शिलान्यास गरिएको छ।

मानवसेवा आश्रमले एक गाँस भोजन र एक सरो कपडाको अभावमा सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण तथा पुनःस्थापन गर्ने उद्देश्यसहित २०६९ साल भदौ १३ गते मकवानपुर, हेटौँडाबाट सेवा शुभारम्भ गरेको हो।