
‘छोराबुहारीले चिहानमा छाडे’ भन्ने हल्ला असत्य
काठमाडौँ । सामाजिक सञ्जालमा केही दिनदेखि फैलिएको ‘बिरामी आमालाई छोराबुहारीले चिहानमा जिउँदै छाडेर गए’ भन्ने दाबी पूर्ण रूपमा असत्य रहेको खुलेको छ।
बागलुङको तमानखोला गाउँपालिका–१ निवासी ५० वर्षीया कृष्णकुमारी छन्त्यालबारे गरिएको यो प्रचार झूटो भएको पुष्टि भएको छ। सामाजिक सञ्जालमा प्रस्तुत गरिएको विवरण विपरीत, उनका न त छोरा छन्, न बुहारी। उनीसँग एक मात्र छोरी छिन्।
उनकी छोरी जमुना छन्त्यालका अनुसार आमालाई १५ वर्षदेखि मानसिक स्वास्थ्यसम्बन्धी समस्या (मनोरोग) छ। मंसिर ८ गते राति करिब २ बजे काठमाडौँ महानगरपालिका–२६, रानीवारीस्थित घरबाट अचानक बाहिर निस्किएपछि कृष्णकुमारी हराएकी थिइन्। छोरीले आमाको खोजीका लागि विभिन्न स्थानमा रिपोर्टसमेत गरेकी थिइन्। तर सामाजिक सञ्जालमा आएको झूटो आरोपले परिवारको प्रतिष्ठामा आघात पुगेको छ।
“आमाका छोराबुहारी कोही छैनन्, म मात्रै एक्ली छोरी हुँ। आमा हराएपछि हामीले अहोरात्र खोजिरह्यौँ। मिडिया र सामाजिक सञ्जालमा झूटो कुरा बनाएर परिवारलाई बदनाम गरियो,” छोरी जमुनाले गुनासो गरिन्।
हराएको दुई दिनपछि कीर्तिपुरस्थित मसानघाट नजिकै उनी एक्लै भेटिएकी थिइन्। स्थानीयले जानकारी दिएपछि मानवसेवा आश्रमले उद्धार गरी कीर्तिपुर नगरपालिका र कीर्तिपुर अस्पतालको सहकार्यमा उनको उपचार सुरु गरिएको हो। उद्धारपछि उनलाई १२ घन्टा इमर्जेन्सी वार्डमा राखी निगरानी गरियो र त्यसपछि २४ घन्टा हाई डिपेन्डेन्सी युनिटमा राखी उपचार गरिएको अस्पतालले जनाएको छ।
हाल उनी वार्डमा सारिएको र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको कीर्तिपुर अस्पतालको भनाइ छ। चिकित्सकका अनुसार उनको शरीरमा कुनै गम्भीर आन्तरिक समस्या नभएर मानसिक स्वास्थ्यसम्बन्धी समस्यामात्र पहिचान भएको हो।
मानवसेवा आश्रमले परिवारसँग सम्पर्क स्थापित भइसकेकाले केही दिनमै पारिवारिक पुनर्मिलन गरिने जनाएको छ।












