शान्ति माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव सम्पन्न

-


     हिडन खबर    
     मंसिर १८ गते २०८२ मा प्रकाशित


बागलुङ जैमिनी नगरपालिका–१ स्थित शान्ति माध्यमिक विद्यालयको ६४औँ वार्षिकोत्सव भव्य रूपमा सम्पन्न भएको छ।

समारोहमा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले शान्ति माध्यमिक विद्यालयलाई नगरको नमूना विद्यालयका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। नगरको केन्द्रमा रहेको विद्यालय भएकाले यहाँका उत्कृष्ट अभ्यासहरू अन्य विद्यालयका लागि सिकाइको आधार बन्न सक्ने उनले उल्लेख गरे।

त्यसैगरी जैमिनी नगरपालिका–२ का वडाध्यक्ष विष्णु आचार्यले शैक्षिक क्षेत्रमा निरन्तर मेहनत र लगन भएमा विद्यालयले दक्ष जनशक्ति उत्पादन गर्न सक्ने बताए। यस्तो प्रकारका क्रियाकलापहरूले गुणस्तरीय शिक्षामा सहयोग पुग्ने उनको भनाइ थियो।

कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरि आचार्य, विद्यालयका शिक्षक भूषण आचार्यलगायतले शिक्षाको गुणस्तर वृद्धि सम्बन्धी धारणा राखेका थिए। समारोहमा विद्यालयका प्रधानाध्यापक यामबहादुर जिसीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

वार्षिकोत्सव समारोह विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शोभाप्रसाद शर्माको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा शिक्षक मेघनाथ आचार्यले स्वागत मन्तव्य, तथा शिक्षक लेखनाथ शर्मा र डिल्ली पौडेलले सञ्चालन गरेका थिए।